काठमाडौं । उपभोग्य मिति सकिएको चियापत्ति ब्रिकी प्रकरणको अनुसन्धान रोक्न बहुराष्ट्रिय कम्पनी युनिलिभरबाट धम्की आएको उपभोक्ता हित संरक्षण मञ्चले आरोप लगाएको छ ।कम्पनीको हेटौंडास्थित प्रशोधन कक्षबाट बरामद गरिएको म्याद सकिएको ३२ टन सीटीसी चियापत्ति प्रकरणमा कारबाही रोक्न कम्पनीले धम्की दिएको मञ्चले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘कम्पनीको उच्च तहबाट शक्ति केन्द्रलाई प्रभाव पार्ने तथा अनुगमनमा संलग्न मञ्चका अधिकारकर्मी उपर धम्की दिने जस्ता कामकारवाही भइरहेको छ, यसमा मञ्चको गम्भीर ध्यानाकर्षण भएको छ’ मञ्चका उपमहासचिव विष्णु प्रसाद तिमिल्सिनाद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
गत भदौ १५ गते उपभोक्ता हित संरक्षण मञ्च नेपाल, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडा र स्थानीय जनप्रतिनिधिहरुको संयुक्त टोलीले युनिलिभर नेपाल लिमिटेडको हेटौंडा उपमहानगरपालिका-४ स्थित चिया प्रशोधन केन्द्रमा अनुगमन गरेको थियो ।
अनुगमन क्रममा उपभोग्य अवधि नाघी म्याद गुज्रेको, उपभोग्य मिति नै उल्लेख नगरिएका र लेवल विवरणमा मार्करले लेखेका ३५ किलो तौलका करीब ९२० बोरा चिया फेला पारेको थियो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटाौंडाले उक्त उद्योगको प्रशोधन कक्ष शिलबन्दी गरेर थप अनुसन्धान अघि बढाएको मञ्चले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !