काठमाडाैं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जनताको व्यापक सहभागितामा संविधानसभाले बनाएको संविधान कार्यान्वयनमार्फत नै संविधानले परिकल्पना गरेको समाजवाद स्थापना गर्न सकिने बताउनुभएको छ ।संविधान दिवसको अवसरमा शुभकामना सन्देश दिनुहुँदै अध्यक्ष नेपालले संविधानको मर्म र भावनालाई व्यवहारमा रूपान्तरण गर्न आआफ्नो तर्फबाट इमान्दार प्रयास गर्न सबैमा आह्वान गर्नुभएको छ ।
अध्यक्ष नेपालले सन्देशमा भन्नुभएको छ, “संविधान जारीपछि मुलुकको राज्य संरचना र शासनसत्ता लगायतमा ठूलो परिवर्तन तथा सुधार भएको तर अहिले पनि प्रतिगामी र दक्षिणपन्थी शक्ति संविधानको विरुद्ध लागिरहेको हामी सबैले अनुभूति गरिरहेका छौँ ।”पूर्वप्रधानमन्त्री नेपालले पाँच दलीय गठबन्धनको नेतृत्वमा भएको सडक आन्दोलनले मुलुकलाई प्रतिगमनबाट जोगाउन र संविधानको रक्षा गर्न सफलता प्राप्त गरेको स्मरण गर्नुभएको छ ।
सर्वोच्च अदालतको फैसलाबाट संविधान र लोकतन्त्रको रक्षा भएको कुरालाई पनि यस अवसरमा उच्च सम्मानसहित स्मरण गर्नैपर्ने उल्लेख गर्नुभएको छ । स्वतन्त्र र सक्षम न्यायपालिका, लोकतान्त्रिक व्यवस्थापिका र जवाफदेही कार्यपालिकाबाट नागरिकको हित र मुलुकको समृद्धि हासिल गर्न सकिने उहाँको भनाइ छ ।
प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासनप्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा कानुनी राज्यको अवधारणा लगायत लोकतान्त्रिक मूल्य र मान्यतालाई आत्मसात् गर्नु संविधानको उपलब्धि भएको अध्यक्ष नेपालले सन्देशमा उल्लेख गर्नुभएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !