काठमाडौं। सरकारले संविधान दिवसका अवसर पारेर उद्यमी व्यवसायी, बैंकरलगायतलाई विभिन्न मानपदवी, अलंकार र पदकबाट सम्मान गरेको छ। उद्यमी देवीप्रकाश भट्टचन, डा. उपेन्द्र महतो, सुरेन्द्रवीर मालाकार, ध्रुवकुमार श्रेष्ठलगायतले सुकीर्तिमय राष्ट्रदीप पाएका छन्।भट्टचन प्रभु समूहका अध्यक्ष हुन्। उनको नेतृत्वमा बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, पर्यटन उद्योग, पानीजहाज कम्पनीलगायत छन्।
डा. महतो गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्षसमेत हुन्। उनको नेतृत्वमा मेडिसिटी अस्पताल सञ्चालनमा छ। श्रेष्ठ पञ्चकन्या समूहका निर्देशक हुन् भने मालाकार नेपाल चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष हुन्। यो पदवी सञ्चार उद्यमी कैलाश सिरोहिया र रामेश्वर थापाले पनि पाएका छन्। सिरोहिया कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष हुन् भने थापा अन्नपूर्ण पोष्टका अध्यक्ष हुन्।
सरकारले सुप्रबल जनसेवाश्री नागरिक दैनिक प्रकाशित गर्ने नेपाल रिपब्लिक मिडियाका प्रबन्ध निर्देशक विनोदराज ज्ञवालीका साथै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, शंकर समूहका प्रबन्ध निर्देशक साहिल अग्रवाल, नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल, खेतान समूहका राजेन्द्रकुमार खेतान, शारडा समूहका अध्यक्ष शिवरतन शारडाका साथै नेपाली खानालाई अन्तर्राष्ट्रिय रूपमा प्रवर्द्धन गर्ने सन्तोष साहलाई सम्मानित गरेको छ।
प्रवल जनसेवाश्रीबाट सनराइज बैंकका अध्यक्ष मोतीलाल दुगड, शर्मा एण्ड शर्मा कम्पनीका रमेश शर्मा, सञ्चयकुमार खेतान, न्यौपाने समूहका अध्यक्ष विष्णुप्रसाद न्यौपाने, पर्यटन व्यवसायी राजु ढकाल, नेपाल ग्यासका कार्यकारी निर्देशक गोकुल भण्डारी, ब्यवसायी गोविन्द गोयन्का, अर्जुनमान सैंजु, नारायण अग्रवाल, सत्यनारायण क्याल, कुञ्ज अग्रवाल सम्मानित भएका छन्।
यससँगै नबिल बैंकका अध्यक्ष तथा पुराना बैंकर उपेन्द्र पौडेल, बीमक सुनिलबल्लभ पन्त, बैंकर रबिना देशराज जोशी, बीमक दीपप्रकाश पाण्डे, सेयर लगानीकर्ता अम्बिकाप्रसाद पौडेल, चार्टर्ड एकाउन्टेन्ट नारायण बजाज, पर्यटन ब्यवसायी चिन्तामणि न्यौपाने, निर्माण व्यवसायी होमनाथ कोइराला, व्यवसायी देवकिसन मुन्दडा, सौरभ दुगड, कृष्णप्रसाद शर्मा र राधेश्याम हलुवाइ सम्मानित भएका छन्।
यसैगरी जनसेवाश्री पदकबाट आइडिया स्टुडियो, बैंकर दीलप्रसाद भट्ट, कृषि व्यवसायी अम्बरबहादुर बानियाँ, व्यवसायी कमलकिशोर मालपानी र राजेन्द्र मल्ल सम्मानित भएका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया !