जनकपुरधाम । नेपाल भारतका सुरक्षा अधिकारीको संयुक्त बैठकले असोज ११ गते ४८ घण्टाका लागि नेपाल–भारत सीमा सिल गर्ने निर्णय गरेको छ।
बैठकमा आगामी सेप्टेम्बर २९ तारिख अर्थात असोज ११ गतेदेखि भारतको बिहार मधुवनी जिल्लाको ग्रामपञ्चायत चुनावको विषयमा छलफल भएको थियो। बैठकले चुनाव अवधिमा ४८ घण्टा नेपाल–भारतको सीमानाका सिल गर्ने निर्णय गरेको हो।
नेपाली अधिकारीले बैठकमा सीमावर्ती भारतीय क्षेत्रबाट नेपालतर्फ लागुऔषध लुकिछिपी धेरै आउन थालेको र नेपालमा अपराध गरेर भारतमा लुकेर बस्ने गरेको विषयमा भारतीय अधिकारीको ध्यानाकर्षण गराएका थिए।
अवैध सामान ओसारपसारमा थप सतर्कता अपनाउने विषयमा दुवै देशका सुरक्षा अधिकारी सहमत भए। साथै भारतीय पक्षले नेपाली अधिकारीबाट हुँदै आएको सहयोगको प्रशंसा समेत गरेका थिए।
नेपाली अधिकारीले ११ चरणमा हुन लागेको भारतको चुनाव निष्पक्ष, तटस्थ तथा धाँधलीरहित बनाउन नेपालको पूर्ण सहयोग हुने प्रतिबद्धता व्यक्त गरेका थिए।
धनुषा, महोत्तरी, सिरहा तथा सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरीका प्रमुख, सशस्त्र प्रहरीका प्रमुख, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा भारतबाट बिहार दरभंगाका डिभिजनल कमिस्नर डा. मनिषकुमार, मधुबनी जिल्लाका डिएम अमितकुमार, मधुबनीका प्रहरी उपरीक्षक सत्यप्रकाश, एसएसबिका प्रमुखसहित सुरक्षा अधिकारी सहभागी थिए।
फेसबुकबाट तपाईको प्रतिक्रिया !