काठमाडौं । प्रभुराम शर्माले २०७८ भदौ २४ गतेबाट ४४ औं प्रधानसेनापतिको जिम्मेवारी सम्हालेका छन् । पूर्णचन्द्र थापा अवकाश भएपछि शर्माको काँधमा विधिवत् रूपमा नेपाली सेनाको नेतृत्व आएको हो । योसँगै व्राम्हण समुदायबाट प्रधानसेनापति हुने पहिलो रेकर्डसमेत शर्माले बनाएका छन् ।
नेपाली सेनाको कार्यभार सम्हालेपछि उनले २०७८ भदाैं २५ गते सकलदर्जाहरूलाई पहिलो पटक सम्बोधन गर्दै आफ्नो भिजन सार्वजनिक गरेका छन् । सेनामा प्रधानसेनापतिले कार्यभार सम्हालेपछि भिजन सार्वजनिक गर्ने परम्परा रहेको छ । शर्माको भिजनले बहालवाला र अवकाश सैनिक तथा तिनको परिवारमा भने उत्साह ल्याएको छ ।
शर्माले संविधानले सेनालाई दिएको जिम्मेवारी पूरा गर्दै संगठनलाई सुदृढीकरण गर्ने कामलाई आफ्नो पहिलो प्राथमिकहतामा राखेका छन् । चार मार्गदर्शक सिद्धान्तलाई आत्मसात् गरेर संवैधानिक जिम्मेवारी पूरा गर्ने शर्माको भनाइ छ ।
‘नेपालको संविधान, राष्ट्रिय सुरक्षा नीति, राष्ट्रिय प्रतिरक्षा नीति र नेपाली सेनाको दीर्घकालीन सोच–२०८७ अनुसार समयानुकूल सांगठनिक सुदृढीकरण, जनशक्तिको विकास, स्रोत साधनको उचित व्यवस्थापन तथा प्रविधिको उच्चतम प्रयोगलाई संस्थागत गरिने छ,’ शर्माले आफ्नो भिजनमा भनेका छन् ।
आफ्ना भिजनलाई मूर्तरूप दिन सेनाले राष्ट्रिय सुरक्षा, संगठन सञ्चालन, व्यावसायिक तालिम, पेसागत वृत्तिविकास, सवल बन्दोबस्ती प्रणाली र कल्याणकारी कार्यलाई प्राथमिकतामा राखी ६ वटा लक्ष्यकेन्द्रित कमाण्ड नीति तथा मार्गनिर्देशन २०७८ पनि जारी गरेको छ ।
-
सकल दर्जा र हिताधिकारीलाई सुविधा नै सुविधा
प्रधानसेनापति शर्माले सेनाका सकलदर्ता र हिताधिकारीहरूका लागि विभिन्न आकर्षक सहुलियत प्याकेजको घोषणा गरेका छन् । बहालवाला र भूतपूर्व सैनिकहरूको कल्याणकारी कार्यका लागि उनले विभिन्न क्षेत्रको सेवा सुविधा विस्तार गर्ने घोषणा गरेका हुन् ।
शर्माले आगामी शैक्षिक सत्रदेखि कक्षा ४ र ५ मा अध्ययनरत हिताधिकारीका सन्नतीले वार्षिक २० हजार रूपैयाँ छात्रवृत्ति दिने घोषणा गरेका छन् । यसअघि प्रधानसेनापति छात्रवृत्ति र कल्याणकारी छात्रवृत्ति (स्वदेश) का लागि आफ्नै व्यवस्थापनमा अध्ययन गरिहेका हिताधिकारीहरूका लागि १ जना सन्ततीलाई कक्षा ६ देखि १२ सम्म अध्ययन गर्न वार्षिक २० हजार सैनिक उपलब्ध हुँदै आएको थियो ।
-
लुम्बिनी प्रदेशमा सैनिक महाविद्यालय
त्यसैगरी, लुम्बिनी प्रदेशको उपयुक्त स्थानमा सैनिक महाविद्यालय स्थापना गर्ने योजना पनि सेनाले अघि सारेको छ । देशका अन्य प्रदेशमा सैनिक महाविद्यालय सञ्चालनमा रहे पनि लुम्बिनी प्रदेशमा भने स्थापना गर्न बाँकी छ । अब त्यहाँ विद्यालय स्थापना गरेर शैक्षिक सत्र २०८० बाट सञ्चालन गर्ने सेनाको तयारी छ ।
लुम्बिनी प्रदेशमै २५ शय्याको फिल्ड अस्पताल पनि खुल्दै छ । त्यसलाइ सेना दिवस २०७९ को अवसरमा सञ्चालन गर्ने सेनाकाे तयारी छ ।
वीरेन्द्र अस्पताल छाउनीमा मुटुरोग निदान र उपचारका लागि क्याथ ल्याब स्थापना गर्ने, त्रिचन्द्र मिलिटरी अस्पतालको सुविधा विस्तार गर्ने तथा वीरेन्द्र सैनिक अस्पताल र बाहिर अक्सिजन प्लान्ट स्थापना गर्ने योजना पनि प्रधानसेनापति शर्माले अघि सारेका छन् ।
६० वर्ष उमेर पुगेका भूपू सैनिक तथा तिनको पारिवारलाई लक्ष्य गरेर पनि याेजना ल्याइएकाे छ । जसअन्तर्गत ज्येष्ठ भूपू सैनिक र तिनको परिवारको निवृत्तिभरण वार्षिक ५ हजारले वृद्धि भएको छ । यसअघि सेनाले यो सुविधाअन्तर्गत रु. सात हजार रूपैयाँ उपलब्ध गराउँदै आएको थियो ।
त्यसैगरी, द्वन्द्व र कर्तव्यपालनाको सिलसिलामा मृत्यु हुने सकलदर्जाको पारिवारिक निवृत्तिभरण पनि मासिक ५०० ले वृद्धि भएको छ । नेपाली सेनाका अनुसार हाल ८०० महिलाहरूले यो सुविधाअन्तर्गत ३००० र २००० पाउँदै आएका छन् । द्वन्द्वमा घाइते तथा आपंगता भएका सकलदर्जालाई यही वर्षदेखि चारपांग्रे स्कुटर उपलब्ध गराइँदैछ ।
प्रधानसेनापति शर्माले घर निर्माणका लागि सहुलियत ब्याजदरमा रु. २५ लाख रूपैयाँ आवासकर्जा उपलब्ध गराउने घोषणा पनि गरेका छन् । १० वर्ष वा सोभन्दा बढी सेवा अवधि पूरा गरेका सकलदर्जाका लागि यस्तो ऋण दिने योजना अघि सारिएको हो ।
सैनिकहरू वर्षमा एक पटक घर बिदा जाँदा निःशुल्क यातायात सु्विधा पनि दिइने भएको छ । सकल दर्जाका लागि परिवार आवास तथा ट्रान्जिट एक्कोमोडेसन विस्तार गर्ने अर्को योजना पनि सेनाको छ ।
सैनिक कमाण्ड तथा स्टाफ तालिमको शिक्षार्थी कोटा पनि पुनरावलोकन भएको छ । हाल सेनाको सैनिक कमाण्ड तथा स्टाफ तालिमको शिक्षार्थी कोटा संख्या ५७ रहेकोमा त्यसलाई वृद्धि गरेर ७७ पु¥याउन लागिएको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !