काठमाडौँ । प्रधानमन्त्री शेर बहादुर देउवाले सरकारको कमाण्ड सम्हालेको पनि २ महिना पुग्यो । पाँच दलीय गठबन्धनको आडमा प्रधानमन्त्री बनेका देउवाले अहिलेसम्म मन्त्रिपरिषद्लाई समेत पूर्णता दिन सकेका छैनन् । जम्मा चार मन्त्रीकाे भरमा सरकार चलिरहेकाे छ ।
पटकपटक गठबन्धनमा आबद्ध दलका प्रमुख नेताहरुसँग सत्ता भागबण्डाको विषयमा छलफल भए पनि ठोस परिणाम देखिएको छैन । विशेषगरी मन्त्रालय भागबण्डामा सहमति जुट्न नसक्दा मन्त्रिपरिषद विस्तारमा ढिलाइ भइरहेको बताइन्छ ।
आज पुनः मन्त्रिपरिषद विस्तार र सत्तापक्षीय गठबन्धनको आगामी रणनीतिबारे छलफल गर्न भन्दै गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्दै छ । बिहान १० बजेका लागि बोलाइएको बेठक प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा बस्न लागेको हो ।
यसअघि शुक्रबार प्रधानमन्त्री देउवाले गठबन्धनमा आबद्ध दलका नेताहरुसँग छिटो मन्त्रीहरुको नाम दिन अनुरोध गरेका थिए । यही बेला अमेरिकी मिल्लेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सहयोग सम्झौतालाई अनुमोदन गर्ने रणनीतिमा सरकार रहेको बुझिन्छ । तर यसबारे गठबन्धनमा आबद्ध दलहरुबीचमै मतभिन्नता कायम छ ।
पछिल्लो समय प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद विस्तारलाई प्राथमिकता राखेको विश्लेषणहरु भइरहेका छन् । साथै एमसिसी संसदबाट पास गराउनुपर्ने दबाब समेत उनीमाथि छ । तर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा निरन्तर अवरोध जारी रहेकाले यसबारे समेत रणनीति बनाउने विषयमा आजको बैठकमा छलफल हुनेछ ।
