डोल्पा । डोेल्पाको छार्का ताङसोङ गाउँपालिका पालिका अध्यक्ष सेनाङ गुरूङले गाउँपालिकाकै कार्यपालिका महिला सदस्य र गर्भवती महिलामाथि आक्रमण गरेका छन् । स्थानीय गुम्बामा आयोजित पूजामा भएको सामान्य विवादपछि अध्यक्ष गुरुङ र उनका भाईभारदारले गाउँमा ताण्डव नै मच्चाएर महिला सदस्य र गर्भवती महिलामाथि आक्रमण गरेका छन् ।
गाउँपालिकाको अध्यक्षको चर्तिकला देखेर पालिकावासी अचम्मित मात्र छैनन् । गाउँपालिका अध्यक्ष गुरूङको योजनामा उनका सहोदर दाई सोही गाउँपालिका अन्तर्गत वडा नं ४ का वडाअध्यक्ष समेत रहेको छेवाङ गुरूङ, उनकी छोरी लाटो गुरूङ, अध्यक्ष सेनाङ गुरूङको पत्नी सेराप गुरूङ र छोरी सीता गुरूङलगायत १४ जनाको समूहले गत भदौ १८ गते महिला सदस्य र गर्भवती महिलामाथि आक्रमण गरेका हुन् ।
कागकोट गाउंँको गुम्बामा वार्षीक पूजामा को पहिला पुग्ने भन्ने विषयमा विवाद भएको थियो । विवादलाई आफुहरुको मानमर्दन ठानेका अध्यक्ष गुरुङ पक्षले घरमा पसेर र सडकमा नै महिलाहरु माथि आक्रमण गरेको थियो । अध्यक्ष गुरुङको टोलीले टासी दुन्डुप लगायत स्थानीयको घरमा ढुंगा प्रहार गरी तोड़फोड़ समेत गरेको थियो ।
यस्तै भदौ १९ गते पीडित पक्षका छोराहरू कागकोट गाउँ वडा प्रहरी चौकीमा उजुरी दिन जाँदा घरमा महिलाहरू मात्र रहेको मौका छोपी कुटपीट गरेको थियो ।कुटपीटबाट छार्काताङसोङ गाउँपालिका वडा नं। ४ कागकोट गाउँ कार्यपालिकाकी महिला सदस्य श्रीमती पेमा छोईजोम गुरूङको टाउको र निधारमा गम्भीर चोट लागेको छ ।
कुटपीट गर्ने पक्षले रूमालमा बेरेर लुकाएर ल्याएको धारिलो हतियार र अन्दाधुन्द ढुंगा प्रहार गरि आक्रमण गरेको थियो ।यस्तै गर्भवती महिला श्रीमती लाज्याम रोकयालाई उनकै घरमै गएर निर्घात कुटपिट गरेका गरेको पनि पीडित पक्षको आरोप छ ।
अध्यक्षको जिम्मेवारी गाउँठाउँको विकास मात्र नभइ पालिकावासीको हरेक अधिकार, सुरक्षा र भोक एवं रोगसंग पनि जोडिएको हुन्छ । तर डोेल्पाको छार्का ताङसोङ गाउँपालिका कागकोटको कथा भने फरक छ । सुरक्षा र न्यायको खोजीमा सदरमुकामतिर भौतारिन बाध्य छन् । अध्यक्ष सेनान गुरुङको ताण्डव र अत्याचारले सीमा नाघ्दा त्यस्को शिकार गर्भवती महिलाहरु समेत बन्न थालेका छन् ।
