काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावल अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (सीसीएमसी) राष्ट्रघाती सम्झौता भएको बताएका छन् ।
शनिबार मीनभवनस्थित कार्की ब्यैंक्येटमा आयोजित कार्यक्रममा उनले एमसीसी राष्ट्रघाती सम्झौता भएको र यदि त्यसो नभएको अवस्थामा आफूलाई गिरफ्तार गर्न भनेका छन् ।
‘एमसीसी राष्ट्रघाती सम्झौता हो । मैले भने मलाई गिरफ्तार गर्नुस्,’ उनले कार्यक्रममा भने, ‘यो लोकतन्त्र हो कि शेरबहादुरजीले अर्कै तन्त्र ल्याइसक्नु भयो । मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन, ५० दिन भयो अझैँ मन्त्रिपरिषद् पूरा भएको छैन । लाज पनि मान्नुपर्ने । उहाँले एमसीसीको बारेमा बोलेपछि जेल चलान गरिनेछ, म प्रधानमन्त्री देउवालाई च्यालेन्ज गर्छु–एमसीसी राष्ट्रघाती सम्झौता होइन गिरफ्तार हुन तयार छु ।’
एमसीसी नेपालमा आए देश उस्कै अधीनमा हुने र देश भारतसँग सन् १९५० मा गरिएको सन्धिजस्तै कब्जा हुने पनि उनले बताएका छन् । भारतसँग सन् १९५० मा सन्धि गरेपछि भारतले नेपालको भूमि कब्जा गरेको र जुन अहिलेसम्म फिर्ता नभएको भन्दै एमसीसी पनि त्यस्तै रहेको उनको भनाइ छ ।
‘मिलिनियम च्यालेञ्ज कर्पोरेसनको स्वामित्व हुने, उसको अधीनमा हुने भन्ने छ। भोलि नेपाल सरकारले त्यो प्रसारण लाइनमा मर्मत गर्नुपर्यो भने गर्न सक्दैन। एमसीसीको अनुमति लिनुपर्छ। अनि नेपालको भूमि विदेशी कब्जामा गएन ? सन् १९५० को सन्धि नेपाली भूमिमा भारतीय कब्जा हो । जुन अहिले नेपालको अधीनमा छैन। एमसीसी पनि त्यस्तै हो।’
नेता रावलले सम्झौताअनुसार गइएको अवस्थामा नेपालमा अमेरिकी कानुन पूर्ण मान्नुपर्ने बताउदै नेपालमा अमेरिकी सेनाको खटनमा राज चल्ने पनि उनले सुनाए । उनका अनुसार सम्झौतामा नेपालको कानुनभन्दा माथि हुने, अमेरिकी संघीय कानुन मान्नुपर्ने भनेको छ र अमेरिकाले भविष्यमा नेपालमा सेना राख्नुपर्छ भन्ने कानुन बनायो भने त्यो नेपालले मान्नुपर्छ।
यसो भएको अवस्थामा नेपालको स्वतन्त्रता नहरने भन्दै उनले अहिले सत्तामा बस्नेहरु यो सम्झौता पास गराउन टाउको फोडेर लागिपरेको पनि आरोप लगाएका छन् ।
यदि साँच्चिकै स्वार्थहिन सम्झौता भएको हो भने किन दुई देशबीचमात्र सम्झौता भएन र भारतलाई घुसाइयो भन्दै उनले प्रश्न गरेका छन् । उनका अनुसार दुई देशबीच मात्रै विकासका लागि गरिएको सम्झौता हो भने भारतलाई किन जोडियो ?
फेसबुकबाट तपाईको प्रतिक्रिया !