काठमाडौं । विवेकशील साझा पार्टीमा समानान्तर गतिविधि नरोकिए कारबाही गर्ने अध्यक्ष रवीन्द्र मिश्र पक्षको केन्द्रीय कमिटी बैठकले निर्णय गरेको छ ।
बिहीबार बसेको बैठकले संयोजक मिलन पाण्डे पक्षका नेताहरुलाई सचेत गराउँदै पार्टी हित विपरीतको समानान्तर गतिविधि तत्काल रोक्न निर्देशन दिने निर्णय गरेको पार्टीका प्रवक्ता शरदराज पाठकले बताए ।
त्यस्ता कदम तत्काल नरोकिए केन्द्रीय समितिले आवश्यक कारबाही गर्ने निर्णय भएको उनले जानकारी दिए ।बैठकले सामाजिक सञ्जालमा पार्टी र अध्यक्ष मिश्रविरुद्ध अमर्यादित टिप्पणी गर्नेलाई पनि त्यस्तो गतिविधि तत्काल रोक्न निर्देशन दिएको छ । त्यस्ता गतिविधिलाई निरन्तरता दिए कारबाही गर्ने भनिएको छ ।
‘आगामी केन्द्रीय समिति बैठकमा असन्तुष्ट सदस्यहरुलाई पनि सामेल गराउन यथाशक्य प्रयास गर्ने र एक साताभित्र अध्यक्षले अर्को बैठक बोलाउने पनि निर्णय भएको छ,’ पाठकले भने । बैठकले केन्द्रीय समिति बैठक सञ्चालनको कार्यविधि मस्यौदा पेश गर्ने जिम्मा अध्यक्ष मिश्रलाई दिएको छ ।
मिश्र पक्षको बैठकमा १०१ जना सदस्य सहभागी थिए । पाण्डे पक्षका नेताहरु पनि दुवैतिर सहभागी भएका हुन् । पाण्डेको पक्षको बैठकमा ४१ जना सदस्य सहभागी थिए ।
पाण्डे पक्षको बैठकले न्याय तथा सुशासन आयोग गठनको प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । साथै, पार्टी विभाजन गराउन चाहने पक्षलाई निरुत्साहित गर्दै एकीकरणको घोषणा पत्र, निर्वाचन प्रतिबद्धता पत्र लगायत पालना गराउने पक्षमा पार्टी पंक्तिलाई अपील गर्ने पनि निर्णय गरेको छ ।
मिश्र पक्षले निर्णय गर्नुअगावै पाण्डे पक्षको बैठक सकिएको थियो । मिश्र पक्षको निर्णयपछि पाण्डेले शुक्रबार बिहान ११ बजेका लागि अर्को बैठक डाकेका छन् ।अध्यक्ष मिश्रले संघीयता र धर्मनिरपेक्षतामा जनमत संग्रह गर्ने प्रस्ताव अघि सारेपछि पार्टीमा वैचारित मतभेद छ । त्यहीबीच अहिले अध्यक्ष मिश्र र संयोजक पाण्डे पक्षबीच समानान्तर गतिविधि सञ्चालन भइरहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !