काठमाडौं । धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुङ्गानाको विषयमा छानबिन गर्न सरकारले जाँचबुझ आयोग गठन गरेको छ । धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुंगानाले कानून विपरीत आफन्तको नाममा शेयर खरीद गरेको विषयमा छानबीन गर्न समिति गठन गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद बैठकले बोर्डका अध्यक्षका सम्बन्धमा छानबीन गरी प्रतिवेदन पेश गर्न उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरेको हो । जसमा विज्ञ सदस्यका रुपमा नारायण प्रसाद पौडेल र अर्का सदस्य नेपाल कानून आयोगका सहसचिव अर्जुनकुमार खड्का रहेका छन् ।
कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले धितोपत्र बोर्ड सम्बन्धी ऐन २०६३ को दफा ७ को उपदफा ७ अनुसारको कामका लागि समिति गठन गरिएको बताए ।सो उपदफा अनुसार अध्यक्षले बोर्डलाई हानिनोक्सानी पुर्यारई बोर्डको हित वा पूँजी बजारको विकास विपरीत हुने गरी काम कारबाही गरेमा नेपाल सरकारले तोकिए बमोजिम जाँचबुझ समितिको गठन गर्न सक्नेछ ।
जाँचबुझ समितिले सिफारिश गरेमा अध्यक्षलाई हटाउन सकिने व्यवस्था पनि रहेको छ ।पूँजी बजारको नियामक निकाय धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाकी छोरी रेबिकाको नाममा सर्वोत्तम सिमेन्टको शेयर खरीद भएको पाइएको थियो ।सर्वोत्तमले बुक बिल्डिङ मार्फत सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) जारी गर्ने तयारी गरिरहेको छ । आईपीओ जारी गर्दा अंकित मूल्य एक सय रुपैयाँ हुने भए पनि बुक बिल्डिङ मार्फत शेयर जारी गर्दा यसको प्रतिशेयर मूल्य ७५० रुपैयाँ हाराहारी हुनेछ । यसरी आईपीओ जारी गर्ने तयारीमा रहेको कम्पनीको शेयर अध्यक्षले आफ्नो पदको दुरुपयोग गरी प्रतिकित्ता २५० रुपैयाँको दरले खरीद गरेको पाइएको थियो ।
पदीय मर्यादा विपरीत अमेरिकामा रहेकी छोरीको नाममा शेयर किनेको भन्दै बोर्ड अध्यक्ष ढुंगानाको आलोचना भइरहेको छ । नेपाल स्टक एक्सचेञ्जका तत्कालीन प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले समेत श्रीमतीको नाममा सर्वोत्तमको शेयर खरीद गरेका थिए । यो तथ्य बाहिर आएपछि अनुसन्धानमा सघाउन भन्दै साउदले पदबाट राजीनामा दिइसकेका छन् ।
प्रतिनिधिसभाको अर्थसमितिमा सांसदहरुले उच्चस्तरीय छानबीन समिति बनाएर ढुंगाना र साउदलाई कारबाही गर्नुपर्ने बताएका थिए ।
अध्यक्ष ढुंगानाले भने विवाहित छोरीले शेयर किन्नु सामान्य कुरा भएको भन्दै आफूले कुनै गैरकानूनी र गलत काम नगरेको बताउँदै आएका छन् । आफ्नो कुनै कमजोरी नै नरहेको भन्दै उनले राजीनामा नगर्ने बताएका थिए ।अध्ययन समितिले ढुङ्गानाको छोरीको नाममामात्रै नभएर भाइ र बुहारीको नाममा पनि सर्वोत्तम सिमेन्टको सेयर खरिद गरेको देखिएको भन्दै ढुङ्गानासँग स्पष्टिकरणसमेत सोधेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !