काठमाडौं । वैकल्पिक राजनीतिक शक्ति बन्ने दावा गर्दै उदाएको जनता समाजवादी पार्टी गठन भएको १६ महिनामै विभाजित भएको छ । यो विभाजनको कारण अरु केही नभई शीर्ष तहका नेताहरुबीचको शक्तिसंघर्ष नै हो ।
मधेश केन्द्रित दलहरू सत्ता स्वार्थमा लागेर पटक-पटक विभाजन भइरहँदा त्यसले मधेशको राजनीति र मधेशका मुद्दामा के प्रभाव पर्छ ?
पछिल्लोपटक गत बुधबार जनता समाजवादी पार्टीबाट अलग्गिएर महन्थ ठाकुरले लोकतान्त्रिक समाजवादी पार्टी गठन गरे । योसँगै मधेस केन्द्रित दल विभाजनमा एउटा अध्याय थपिएको छ ।
जसपाभित्र उपेन्द्र यादव र महन्थ ठाकुरबीच स्वार्थ नमिल्दा विभाजन भएको हो । सदभावना पार्टीबाट सुरु भएको मधेश केन्द्रित दलको विभाजन अहिले पनि जारी छ । पटक-पटक एकता र विभाजन खेप्दै आएको मधेशवादी दलभित्र विभाजनमा सैद्धान्तिक कारण भन्दा नेताहरको व्यक्तिगत स्वार्थ र अहंकारनै मुख्य कारण रहेको मधेश मामिलाका जानकारहरु बताउँछन् ।
राजनीतिक दल विभाजन सहज हुने गरी तत्कालीन प्रधानमन्त्री केपी ओलीले अध्यादेश ल्याएसँगै २०७७ सालको वैशाखमा एकीकृत बनेका दुई दल संघीय समाजवादी र राष्ट्रिय जनता पार्टी एकताको औचित्य पुष्टि नगर्दै फुटेका छन् ।
मधेशका मुद्दा उठाएर उदाएका दलहरको विभाजनले मधेश, आदिवासी, जनजातीको मुद्दा कमजोर हुने मधेशका बुद्धिजिवी बताउँछन् । मधेशका शक्ति कमजोर हुँदा समावेशीता कमजोर हुने, राज्यसंरचनामा तल्लो वर्गको पहुँचमा कमी हुने उनीहरुको विश्लेषण छ ।
उसो त मधेश केन्द्रित दल सरकारमा सहभागीकै विषयलाई लिएर जुट्ने र फुट्ने गर्छन् ।
पछिल्लो विभाजन त्यसैको निरन्तरता मात्र हो । तर, यतिबेला विभाजित भएर बनेका दल लोकतान्त्रिक समाजवादी पनि सरकारमा सहभागी हुन खोजेपछि जनता समाजवादी पार्टीका लागि टाउको दुखाइको विषय बनेको छ ।
प्रधानमन्त्रीमा समर्थन गरेको दुवै समूहलाई सरकारमा कसरी सहभागी गराउने ? भन्ने विषयले प्रधानमन्त्रीलाई समेत संकटमा परेको छ । दल विभाजनले मधेशका मुद्दालाई कमजोर बनाउने भएपनि सत्तामा मधेसका नेताहरको संख्यात्मक उपस्थिति बने बलियो हुने संकेत देखिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !