कैलाली । २०७२ साल भदौ ७ गते कैलालीको टीकापुरमा नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) लक्ष्मण न्यौपानेसहित ७ प्रहरी र १ नाबालकको ‘नरसंहार’ गरिएको थियो ।थरुहट/थारुवान र अखण्ड सुदूरपश्चिम आन्दोलन चर्किरहेको अवस्थामा उक्त घटना घट्न पुगेको थियो । घट्ना घटेको आज ६ वर्ष पूरा भएको छ ।
घटना घटेको करिब साढे ३ वर्षपछि कैलाली जिल्ला अदालतले टीकापुर घटनाका मुख्य अभियुक्त रेशम चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला सुनाएको थियो ।अदालतले रेशम चौधरी, हरीनारायण चौधरी, राजकुमार कठरीया, सुन्दरलाल कठरिया, बृजमोहन डगौरा, राजेश चौधरी, वीरबहादुर चौधरी, प्रदीप चौधरी, सीताराम चौधरी, श्रवण चौधरी र गंगाराम चौधरीलाई जन्म कैद फैसला सुनाएको थियो । तर, श्रवण चौधरी नाबालक भएकाले आधा अर्थात १० बर्ष सजाय घटाएको थियो ।
टीकापुरमा घटनाका अन्य १२ दोषीलाई भने ३ वर्षको सजाय सुनाएको थियो । साथै, हालसम्म उक्त घटनाका आरोपित ३१ जना फरार रहेका छन् ।टिकापुर घटनाका मुख्य योजनाकार तथा अभियुक्तका रुपमा रहेका रेशम चौधरी निलम्बित प्रतिनिसभा सदस्य पनि हुन् । उनी कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सांसद् हुन् ।टीकापुर घटनापछि फरार भएका चौधरी ०७४ को निर्वाचनमा वारेसनामामाफर्त कैलाली–१ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका थिए। निर्वाचनमा भारी मतले विजयी हासिल गरे ।
तर, उनीविरुद्ध टीकापुर घटनासम्बन्धि परेको मुद्दा विचाराधिन रहेकाले उनले सपथ लिन पाएनन् ।करिब एक वर्षपछि जेलमै रहेको अवस्थामा उनले संसद् भवनमा गएर सांसदको सपथ ग्रहण गरे । मुख्य अभियुक्त भनेर थुनामै रहेका बेला चौधरीलाई राजनीतिक स्वार्थका कारण सांसद पदको सपथ खुवाइएको थियो ।
आज टीकापुर घटना घटेको ६ वर्ष पुगेको अवसरमा चोधरीको विना सर्त रिहाई गर्नुपर्ने माग राख्दै आएका समर्थकले सोमबार टीकापुरको लम्कीमा शान्तिपूर्ण प्रदर्शन र मंगलबार ‘कालो दिन’का रुपमा मनाए ।थरुहट÷थारुवान संयुक्त मोर्चा कैलालीका संयोजक माधव चौधरीले चौधरीको रिहाई नहुन्जेलसम्म आन्दोलन जारी राख्ने बताएका छन् । उनले टीकापुर घटना राजनीतिक घटना भएकाले विनासर्त चोधरीको रिहाई हुनुपर्ने माग राखे ।
२०७२ भदौ ७ गते एक नाबालकसहित ९ जनाको ज्यान जाने गरी भएको टीकापुर प्रकरणमा जिल्ला अदालत कैलालीले बुधवार अन्तिम फैसला सुनाएको थियो । आदेशानुसार मुख्य योजनाकार भनिएका बहालवाला सांसद रेशमलाल चौधरीसहित ११ जनालाई जन्मकैदको सजाय सुनाइएको थियो । राजनीतिक उद्देश्य प्राप्तिका लागि आन्दोलन भएको भन्दै उक्त घटनाका अभियुक्तले माफी पाउनुपर्ने माग निरन्तर उठिरहे पनि अदालतले मुख्य अभियुक्त मानिएका बहालवाला सांसद्सहित ११ जनालाई जन्मकैदको सजाय सुनाएको थियो ।
फैसलामा टीकापुर प्रकरणलाई राजनीतिक घटना मान्न अदालतले अस्वीकार गरेको थियो ।
अदालतले टीकापुर घटनालाई मनसाय प्रेरित, योजनाबद्ध भएको हत्या र नरसंहार भएको व्याख्या गरेको छ।फैसलामा भनिएको छ ‘घटनालाई तत्कालीन अवस्था हेर्दा कुनै राजनीतिक अभिष्ट नभई दंगा भड्काउने, सार्वजनिक सम्पत्तिको नाश गर्ने र सो कार्यमा कसैको अवरोध सिर्जना गरे आफूसँग भएको हतियार प्रयोग गर्ने उदेश्यबाट प्रेरित भएको देखिन्छ । सोही बमोजिम दंगा नियन्त्रणमा खटिएका सुरक्षाकर्मीहरूले भीड नियन्त्रण गर्न खोज्दा घरेलु हतियार प्रयोग गरी प्रहरी कर्मचारीको हत्या गरेको देखिन्छ। ’फैसलामा घटनालाई मानवीय संवेदना शून्य रहेको समेत भनिएको छ। अदालतले व्याख्याका क्रममा भनेको छ ‘‘प्रस्तुत वारदातको प्रकृति हेर्दा मानवीय संवेदना शून्य भई गरिएको व्यक्ति हत्या मात्र नभई नरसंहार थियो भन्न बाध्य तुल्याउँछ।’
अदालतले टीकापुरमा भएको घटनालाई राजनीतिक रूपमा परिचालित नभएको पनि भनेको छ।
‘कुनै निश्चित राजनीतिक नारा नभएको, कुनै निश्चित व्यक्तिको नेतृत्वमा भएको, तर, हात हातमा घरेलु हतियार बोकेका असंयमित, अनियन्त्रित भई आवेगात्मक ढङ्गले सार्वजनिक ठाउँमा दंगा गर्नबाट सो वारतादातमा संलग्न यी प्रतिवादीहरू समेतका व्यक्तिहरू राजनीतिक रूपमा परिचालित थिएनन् भन्ने प्रस्ट हुन्छ।’
अदालतले घटनालाई मनसाय प्रेरित भएको व्याख्या गरेको छ। क्षणिक आवेगमा नभई योजनामै टीकापुर काण्ड रचिएको फैसलाको पूर्णपाठमा उल्लेख छ।
फैसलामा भनिएको छ ‘प्रस्तुत वारदात अचानक र तत्काल उत्तेजित भीडबाट घटित हुन पुग्यो कि भनी हेर्दा समेत घटनामा सामेल यी प्रतिवादीहरूको बयान, कागज, बुझिएका व्यक्तिहरूको कागज, भिडियो क्लिप समेतका आधारमा घटना हुनुपूर्व एक दिन अगाडिको राति स्थानीय बासिन्दाको घर घरमा गई भोली टीकापुरमा हुने कार्यक्रममा हरेक घरबाट एक/एक जना आफ्नो घरमा भएका हतियार आफूसँग लिई अनिवार्य सामेल हुन अन्यथा एक हजार जरिवाना हुनेछ भनी प्रतिवादी रेशमलाल चौधरी समेतले थारु समुदायका भलमन्सामार्फत उर्दी जारी गराउनु, सोही बमोजिम भीड जम्मा हुनु भीडलाई नियोजित ढङ्गले निर्देशन गरी सी आकारको घेराभित्र प्रहरीलाई घेराबन्दी गरी घेराबन्दीको तहगत संरचनामा अग्रपक्तिमा नाबालक, त्यसपछि महिला, त्यसपछि वृद्ध र अन्तमा हतियारधारी समूह तयार गरी आक्रमण भएकोबाट प्रस्तुत वारदात योजनाबद्ध ढङ्गले नरसंहार गर्ने गराउने मनसायसहित घटित भएको थियो भन्ने प्रमाणित भएको छ ।
अतः उक्त वारदातमा यी प्रतिवादी समेतले योजनाबद्ध तरिकाले मनसायसहित हत्या गरे गराएका थिए भनी निःसन्देह सिद्ध भएको छ ।’अदालतले घटनाका समयमा प्रतिवादी घटनास्थल वरपर नै रहेको प्रहरी तथ्यलाई स्वीकार गरेको छ। मोबाइल लोकेशन तथा कल विश्लेषणका आधारमा अदालतले घटना हुँदा प्रतिवादी रेशम चौधरी लगायतका प्रतिवादी घटनास्थल वरपर रहेको निष्कर्ष फैसलामा लेखको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !