काठमाडौं । अब अफगानिस्तान तालिबानको कब्जामा छ। यसबाट सबैभन्दा बढी जोखिममा महिला परेका छन्। महिलामा पनि सबैभन्दा बढी त्यस्ता महिला तालिबानको निशानामा परेका छन्, जो कुनै रोजगारी गर्छन् वा सामाजिक क्षेत्रमा काम गर्छन्।
यस्तै एक जना पीडित महिला हुन्– जरिफा गफारी। उनी अफगानिस्तानकी पहिलो महिला मेयर हुन्। गफारी राजधानी काबुलको पश्चिममा पर्ने मैदान सहरकी मेयर भइसकेकी व्यक्ति हुन्। अहिले उनी जर्मनीमा छिन् र शरण दिएकामा त्यहाँका सरकार र नागरिकप्रति आभारी छिन्।
जरिफा भन्छिन्, ‘तालिबान मलाई खोज्दै घरमै आए। मेरा बुबालाई मारियो। मेरो घरको गार्डलाई पिटे। अब म विश्वलाई तालिबानको वास्तविकता बताउन चाहन्छु।’
न्युज एजेन्सीलाई दिएको अन्तर्वार्तामा जरिफाले धेरै कुरा खुलासा गरेकी छन्।
आखिर कति जनालाई मार्ला तालिबानले?
जरिफाका अनुसार अफगानिस्तानका नागरिकलाई रोक्न असम्भवछ, उनीहरू डराउनेवाला छैनन्। जरिफा भन्छिन्, ‘आखिर तालिबानले कति जनालाई मार्ला? अफगान नागरिक पछि हट्ने मानिस होइनन्। मैले २० वर्षमा जे प्राप्त गरेको थिएँ, ती सबै गुमाएँ। आज मसँग जन्मभूमिको माटो मात्र बाँकी छ, अरू केही छैन।’
जरिफा यो अवस्था आउनुमा सबैलाई दोषी ठान्छिन्। उनका अनुसार आज अफगानिस्तानमा जे भइरहेको छ, त्यसमा सबै जिम्मेवार छन्। आम नागरिक, नेता तथा विश्व। स्थानीय नागरिकले कहिले पनि एकजुट भएर आतंकवाद वा गलत कुराको विरोध गरेनन्। अफगानिस्तानका हरेक बालबालिकालाई थाहा छ– पाकिस्तानले के गर्यो?’
अफगानिस्तान सधैं हाम्रो रहनेछ
एक प्रश्नको जवाफमा जरिफाले भनिन्, ‘अफगानिस्तान हाम्रो थियो र सधैं हाम्रै रहनेछ। आज मजस्ता महिला त्यहाँ छैनन्, यसलाई यसरी बुझ्न जरुरी छ कि बाघ पनि पूरा शक्तिका साथ हमला गर्नुअघि दुई पाइला पछि सर्छ।’
जर्मन मिडियासँगको एक अर्काे कुराकानीमा जरिफाले भनिन्, ‘म यहाँ त्यस्ता ९९ सय प्रतिशत अफगानी नागरिक एवं महिलाको आवाज बनेको छु्, जसले अब न काम गर्न पाउँछन्, न ज्यादतीविरुद्ध बोल्न नै सक्छन्।’
जरिफा गत हप्ता इस्तानबुल गएकी थिइन्। त्यसपछि जर्मनी पुगिन्। उनको साथमा परिवार पनि छ। जर्मनीमा शरणार्थीका लागि धेरै समस्या छन्। तर जरिफा भन्छिन्, ‘म यहाँ शरणार्थी बनेर आएकी होइन।’ एजेन्सीको सहयोगमा
फेसबुकबाट तपाईको प्रतिक्रिया !