काठमाडौं । नेकपा एमाले स्थायी कमिटी बैठकले हालसम्म भएका गतिविधिका कारण कसैलाई पनि कुनै कारवाही र भेदभाव नगरिने निर्णय गरेको छ । मंगलबार ललितपुरको च्यासलस्थित बसेको बैठकले कसैलाई भेदभाव र कारबाही नगर्ने निर्णय गरेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले बताएका हुन् ।
उनले भने, ‘दल दर्ताको प्रक्रियाबाट अलग रहनुहोस् स्वागत गरिने छ । विभाजनका सबै गतिविधि परित्याग गरेर आउनेलाई कुनै कारबाही र भेदभाव राखिने छैन ।
उनले पार्टी एकता गर्न बनाइएको दशबुँदे सहमति कार्यान्वयन गर्ने पनि निर्णय भएको बताएका छन् । यस्तै, बैठकले एमाले पार्टी संरचना २ जेठ २०७५ अगाडिको अवस्थामा क्रियाशील हुने पनि प्रवक्ता ज्ञवालीले बताए ।
उनका अनुसार १० प्रतिशत केन्द्रीय सदस्य मनोनयन, विभागहरुको पूर्णता दिने लगायत प्रयोजनका निम्ति सात सदस्यीय कार्यदल पनि बनाइएको छ ।
कार्यदलमा उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिवहरु विष्णुप्रसाद पौडेल र घनश्याम भुसाल, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र लेखराज भट्ट छ
प्रवक्ता ज्ञवालीले आगामी १० देखि १२ मंसिरमा दशौं महाधिवेशन र ४देखि ६ असोजमा विधान महाधिवेशन गर्ने निर्णय पनि भएको बताएका छन् । यसका लागि पार्टी सदस्यता २ जेठ २०७५ अगाडिको आधारबाट अगाडि बढाइने निर्णय भएको छ
सदस्यता नवीकरण असोज मसान्तभित्र गरिने निर्णय भएको प्रवक्ता ज्ञवालीले बताए । उनका अनुसार बैठकले भदौ १६ देखि २० गतेसम्म जिल्ला र जनसंगठनहरुको भेला गर्ने निर्णय गरेको छ
बैठकमा माधव नेपाल नेतृत्वमा दर्ता भएको नयाँ दल नेकपा (एकीकृत समाजवादी) मा सहभागी नभएका नेपाल समूहका १० नेताहरु आजको स्थायी कमिटीको बैठकमा सहभागी रहेका थिए
भोलि फेरि केन्द्रिय कमिटीको बैठक बस्नेगरी आजको बैठक सकिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !