काठमाडौं । अफगानिस्तानमा तालिबानले सरकार गठनको लागि छलफल जारी राखेका बेला अमेरिका र संयुक्त राष्ट्रसंघको मोस्ट वान्टेड सूचीमा रहेका खलिल हक्कानी काबुलमा देखा परेका छन्। हक्कानी कट्टरपन्थी हक्कानी नेटवर्कका सदस्य हुन्।
शुक्रबार हक्कानीलाई अफगानिस्तानको राजधानी काबुलमा देखिएको बीबीसीहिन्दीले जनाएको छ। उनी सैन्य पोशाकमा लडाकुको सुरक्षा घरेमा थिए। सार्वजनिक तस्बिर र भिडिओमा हक्कानीले मस्जिदमा मानिसहरुलाई सम्बोधन गरिरहेको देखिएको छ।
यसैहप्ताको सुरुवातमा पनि अफगानिस्तानको हाई काउन्सिल फर नेसनल रिकन्सिलेसनका प्रमुख अब्दुल्ला अब्दुल्लाले हक्कानी र उनका प्रतिनिधिमण्डललाई भेटेको तस्बिर सार्वजनिक भएको थियो। यस भेटमा अफगानिस्तानका पूर्व राष्ट्रपति हामिद करजई पनि सामिल थिए। हक्कानी अमेरिकाको मोस्ट वान्टेड लिस्टमा रहेका व्यक्ति हुन्। उनको टाउकोको मूल्य ५० लाख अमेरिकी डलर तोकिएको छ।
अफगान फौज र पश्चिमा देशका सेनाविरुद्धको आक्रमणमा हक्कानी नेटवर्कले पनि तालिबानलाई सहयोग गरेको अनुमान गरिन्छ। हक्कानीले हालै न्युयोर्क टाइक्सका फोटोपत्रकारसँग भनेका थिए,‘अफगानिस्तानमा पत्रकार, महिला सुरक्षित रहनेछन्।’
फेसबुकबाट तपाईको प्रतिक्रिया !