काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा कनिष्टलाई प्रमुख बनाएकोमा बरिष्ठ चिकित्सकहरु स्वास्थ्य तथा जनसंख्या मन्त्री उमेश श्रेष्ठसँग रुष्ट भएका छन् ।
११ औं तहका करिब १५ जना चिकित्सक छँदाछँदै १० औं तहका डा. भूपेन्द्र बस्नेतलाई गएको साउन १९ मा प्रमुख प्रशासकीय अधिकृत बनाएकोमा असन्तुष्टि ब्यापक छ । बीरमा कनिष्ट डा मातहत बरिष्ठ डाक्टरहरुले काम गर्नुपरेको छ । ११ औं तहका १५ चिकित्सक छँदाछँदै १० औं तहका बस्नेतलाई प्रमुख प्रशासकीय अधिकृत बनाउने क्रममा स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेल र चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले पनि घुस लिएको आरोप छ ।
केन्द्रीय अस्पतालका प्रमुख प्रशासकीय अधिकारीका रूपमा निजामती सेवाको राजपत्राङ्कित प्रथम श्रेणी वा स्वास्थ्य सेवाको कम्तीमा ११ औँ तहका अधिकृत वा वरिष्ठ चिकित्सकलाई खटाइने अध्यादेशबाट ल्याइएको एनेमा उल्लेख भए पनि राज्यमन्त्री श्रेष्ठले १० औँ तहका बस्नेतलाई बनाएर विवादमा परेका छन् ।
डा. बस्नेतले त्यसका लागि ५० लाख खर्च गरेको चर्चा वीर अस्पतालमा छ । अघिल्लो दिन साउन १८ मा ११ औं तहका चिकित्सक रुद्र मरासिनीलाई प्रमुख बनाइएकोमा भोलिपल्ट साउन १९ मा एकाएक बस्नेतलाई बनाइएको थियो । डा. मरासिनीको निर्णय भइसकेपछि रातारात १० औं तहका कनिष्ट बस्नेतलाई प्रमुख बनाएर देउवा सरकारले वीरका बरिष्ठ चिकित्सकहरुको मनोबल गिराउने काम सरकारले गरेको छ ।
डा. बस्नेत यसअघि वीरको निर्देशक हुँदा खरिद गरिएका दुइटा २२ करोडका इन्ट्रा ओपी सीटीस्क्यान Intra OP CT scan मेसिन पनि प्रयोगबिहीन छन् ।
बस्नेतको पालामा खरिद गरिएका यी करोडौंका सामान प्रयोगबिहीन किन भए, उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरी कारबाही गर्ने अवस्था छ । महालेखा परीक्षकको बार्षिक प्रतिवेदन २०७८ मा पनि यी मेसिन किनेको बर्षौसम्म पनि प्रयोगबिहीन किन भए भन्ने तथ्य औंल्याएको छ । महालेखाले औंल्याएको बिषयमा छानबिन गर्नुपर्ने बस्नेतलाई नै सरकारले पुरस्कृत गरी वीरको प्रमुख बनाएको छ ।
डा. बस्नेत अहिले पनि पहिलाको जस्तो काम नलाग्ने सामान खरिद गरी करोडौं कमिसन खाने गलत नियतले रातारात खुराफात गरेर वीरमा आएका छन् । यसअघिका वीर अस्पतालका प्रमुख डा. जागेश्वर गौतमले गरेका सेटिङका टेण्डरहरुलाइ सदर गर्नका लागि उनी वीरमा षडयन्त्रमूलक ढंगले आएको आरोप छ । डा. गौतमले नियमविपरीत दिइएका टेण्डर रद्द नगरी बस्नेत धमाधम मोलमोलाई गर्दै सामान खरिद गर्न उनी तल्लीन छन् ।
-
अरब मूल्यका उपकरण जडान नै भएनन्, करोडौंका उपकरण मर्मत नहुँदा प्रयोगबिहीन
महालेखा परीक्षक कार्यालयले सार्वजनिक गरेको ५८ औं बार्षिक प्रतिवेदनमा वीर अस्पतालले किनेका करोडौं मूल्यका उपकरण बिग्रिएर प्रयोगबिहीन रहेको कुरा उल्लेख छ । वीर अस्पतालले खरिद गरेका एक थान स्लाइसको सिटी स्क्यान मेसिन, एक थान पल्मोनरी फन्सन्टेड मेसिन, चार थान ग्यास्ट्रो इन्डोस्कोपी मेसिन बिग्रेर प्रयोगबिहीन भएको उल्लेख छ ।
वीर अस्पतालले २०७५ मा क्यान्सरको रोगको उपचारका लागि खरिद गरेको ४७ करोड ९० लाख ६० हजार रुपैयाँको सीटी सिमुलेटर मेसिन र टेमोथेरापी मेसिन तीन बर्ष बितिसक्दा पनि जडान गरिएको छैन । ती मेसिन जडान नगरी सशस्त्र प्रहरी प्रहरी बल अस्पताल परिसर बलम्बुको चौरमा राखिएको छ । चौरमा राखिएका ती उपकरण नै बिग्रने अवस्थामा पुगेका छन् । उक्त मेसिन सञ्चालन गरी क्यान्सरको उपचार सुरु गर्न महालेखाको प्रतिवेदनमा सुझाव दिइएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !