काठमाडौं । तालिबानले अफगानिस्तानस्थित भारतीय वाणिज्य दूतावासमा ताला फोडेर तलासी लिएको छ ।हिन्दुस्तान टाइम्सका अनुसार कान्धार र हेरातस्थित बुधवारदेखि नै भारतीय वाणिज्य दूतावास बन्द थियो । तर तालिबान लडाकुले ताला फोडेर तलासी लिएका हुन् । तालिबान लडाकुले दूतावासभित्र रहेका केही महत्वपूर्ण दस्तावेजहरु लगेका छन् ।
तालिबानले नेटो फौज र पूर्ववर्ती अफगान सरकारका लागि काम गरेका मानिसहरुको खोजी कार्यलाई पनि तीव्र पारेको छ ।संयुक्त राष्ट्रसघंको एक दस्तावेजमा तालिबानले घरघरै गएर त्यस्ता व्यक्तिहरुको खोजतलास गरेको र उनीहरुका परिवारका सदस्यहरुलाई धम्क्याएको बिबिसीले जनाएको छ।
तालिबानले शक्ति हातमा लिएपछि अफगानहरुलाई कुनै पनि बदला नलिने भन्दै आश्वस्त पार्ने कोसिस गरेको थियो । सरकारी कर्मचारीहरुलाई पनि युद्ध समाप्त भएको भन्दै आममाफीको घोषणा गरेको थियो ।
तर तालिबानले विदेशी फौज र पूर्ववर्ती सरकारका ‘सहयोगीहरु’लाई तारो बनाएको भन्ने चेतावनी राष्ट्रसंघका लागि गोप्य सूचना संकलन गर्ने आरएचआईपीटीओ (रिप्टो) नर्वेजियन सेन्टर फर ग्लोबल एनालाइसिसको एउटा अति गोप्य दस्तावेजमा दिइएको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !