काठमाडौं । आज राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेसँगै नयाँ राजनीतिक दल दर्ताको गृहकार्य सुरु भएको छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका महन्थ ठाकुर नेतृत्वले नयाँ दल दर्ताको गृहकार्य सुरु गरेको हो ।
नेपाल र ठाकुर समूहले आफनो निकटका नेता तथा सांसदहरुसँग छलफल गरिरहेका छन् । दल दर्ताका लागि आवश्यक कागजात मिलाउनेसमेत कार्य भइरहेको सम्बन्धित दलले जनाएको छ । नयाँ दल दर्ता गर्दा नाम, चुनाव चिन्ह, पार्टी झण्डा लगायतका विषयमा छलफल भइरहेको जनाइएको छ ।
जनता समाजवादी पार्टीबाट अलग भएर ठाकुरको नेतृत्वमा नयाँ दल दर्ताका लागि आवश्यक सबै तयारी पूरा भएको र केही कानुनी कागजात मिलाएर चाँडै निर्वाचन आयोगमा दर्ता गरिने ठाकुर निकट युवा नेता मुकेशकुमार झाले बताए । अध्यादेश अहिलेको तत्कालीक आवश्यकता भएको बताउँदै उनले अध्यादेश जारी भएसँगै ठाकुरको नेतृत्वमा अब सशक्त दल दर्ता हुने र तराई मधेशमा यो नै प्रमुख शक्तिको रुपमा आउने बताए ।
उता एमाले नेता नेपाल समूह पनि दल दर्ताको अन्तिम तयारीमा जुटेको छ । नेपाल निकट नेता मेटमणि चौधरीले कानुनी प्रक्रिया मिलाउने कार्य भइरहेको र चाँडै निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिने बताए । कागजातमा हस्ताक्षर गर्ने र अन्य कानुनी प्रक्रिया मिलाउने कार्य भइरहेको उनले बताए ।
