मोरङ । मृत्यु भएको भनेर अन्तिम संस्कार गरिएको व्यक्ति ६ महिना पछि जीवित आइपुगे । त्यसमाथि उनी जीवित भएको प्रमाणपत्रसहित नागरिकता पाउन बर्षौ संघर्ष गर्नु पर्यो ।
साउदी अरेबियामा कामको सिलसिलामा दुर्घटनामा पर्दा तीन नेपालको घटनास्थलमा नै मृत्यु भयो । दुर्घटनामा परेकाहरुको अनुहार क्षतविक्षत हुँदा कसैलाई पनि चिन्न सक्ने अवस्था थिएन् । दुर्घटनामा परेर बाँचेको एकजनाको पछि सघन उपचार कक्ष आइसीयुमा राखेर ६ महिनासम्म उपचार गर्नु परेको थियो ।
हुलियाको आधार मृत्यु भएका तीन जनाको शव नेपाल पठाइयो । उनीहरुको आआफनो संस्कार अनुसार अन्त्येष्टि पनि गरियो । तर यसरी अन्तिम संस्कार गरिएका बेलबोरी मोरङका सुवास तामाङ भने आइसीयुमा उपचार गराउने परेछन् । उनको भनेर पठाइएको शव कपिलवस्तुका टेकेन्द भण्डारीको रहेछ । पछि तामाङ नेपाल फर्किएर घरमा पुग्दा सबै गाउँलेलाई तमाशा मात्र भएन, मृत्यु दर्ता भइसकेका तामाङको नागरिकतासहित जीवित रहेको प्रमाणपत्र बनाउँन महिनौ लाग्यो ।
सिधाकुरा जनतासंगको गत फागुन २७ गतेको एपिसोडमा कुनै उपन्यासको कथाझैँ लाग्ने यो सामग्री प्रसारण भएपछि जिल्ला प्रशासन कार्यालयको मोरङको ध्यान तानिए पनि बल्ल आएर तामाङको आवश्यक कागजात बनेको छ । जीवित अवस्थामा नै कानूनी रुपमा मारिएका तामाङले यसबीचमा भोग्नु परेको पीडा पनि थप दर्दनाक बन्यो ।
साउदी अरेबियामा भएको त्यो त्रासदीपूर्ण दुर्घंटना
मोरङ बेलवारी ११ लक्ष्मीमार्गका सुवास तामाङले जिल्ला प्रशासन कार्यालय मोरङबाट नागरिकता पाएका छन् । बैदेशिक रोजगारीको क्रममा तामाङ २०७२ साल असार २४ गते साउदी अरेवियामा दुर्घटनामा परेका थिए । चार जनामाध्ये तीन नेपालीको घटनास्थलमै मृत्यु भएको थियो । कम्पनीले बाँचेका एक जनाको सघन उपचार कक्षमा राखेर ६ महिना उपचार गर्यो ।
कम्पनीको गलत सूचनाको मारमा अस्पतालदेखि परिवारसम्म
साउदी अरेवियाको हुण्डार्ई कम्पनीले शव क्षत विक्षत भएकोले त्यहाँको अस्पताललाई गलत सुचना दियो । मृतकको पहिचान नगरी अस्पतालले शव कम्पनीलाई बुझायो सोहीअनुसार सुवास तामाङको मृत्यु भएको भन्दै कम्पनीले शव बुझेर नेपाल पठाउने तयारी गर्नुका साथै सुवासको परिवारलाई मृत्युको खवर गर्यो । सुवासका आफन्तले मृत्यु दर्ता गरेर दुतावासमा पत्राचार गरे सम्पूर्ण प्रकृया पूरा भएपछि सुवास तामाङको शव नेपाल ल्याइयो र बौद्ध परम्परा अनुसार अन्त्येष्टि गरियो ।
उनको शवचिन्नै नसकिने गरी क्षतविक्षत भएकाले आप्mनो पतिको शव श्रीमतीले पनि चिन्न सकिनन् । उता अस्पतालमा उपचार गराइरहेको सुवासको तीन महिना पछि होश खुलेर आफु सुवास तामाङ भएको वताए पछि मात्र कपिलबस्तुका टेकेन्द्र भण्डारीको शव सुवासका आफन्तले अन्त्येष्टि गरेको खुलेको हो । यो सवै घटना पछि भण्डारीका परिवारले मोरङमा उनको अन्त्येष्टि गरेको स्थानबाट परिवारले माटो लगेर अन्तिम संस्कार गरेका थिए ।
जीवित सुवास कानूनीरुपमा भने मरिसकेका थिए
सुवास जीवित छन् तर कानुनी रुपमा उनी मरिसकेका थिए । धेरै मिडियाहरुले उनको समाचार लेखे प्रचार गरे तर कसैले पनि सम्बन्धित ठाँउसम्म पुर्याउन सकेनन् । गत फागुन २७ गते न्यूज २४ टेलिभिजनको कार्यक्रम सिधाकुरा जनतासंगमा सुवासको बारेमा रिपोर्ट आयो । जस्ले सम्बन्धित निकाय जिल्ला प्रशासन कार्यालय मोरङसंग समन्वय गरेर सुवासको नागरिकता दिलाउन सफल भयो ।
जिउँदो मानिस नागरिकता माग्न आएपछि दियौं : मोरङ जिल्ला प्रशासन
सुवासको नागरिकता दिलाउनको लागि मानिस स्वय जिउदै आएको र सवै कागजात पुरा भएको हुनाले उनलाई सहजै नागरिकता दिन सफल भएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।
लामो समयसम्म आफ्नै मृत्यु प्रमाण पत्रबोकेर हिड् सुवासले भोगेको पीडा भनिसाध्य छैन । कुनै उपन्यासको घटना झै लाग्ने उनको यो कथा वास्तवमा देख्नेहरुको लागि पनि कम पीडादायी थिएन ।

















