काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्रीबाट शंकर पोखरेलले दिएको राजीनामा स्वीकृत भएको छ भने नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढेको छ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चासहितको गठबन्धनले नयाँ सरकार गठनको तयारी गरेको छ ।
जसमा मुख्यमन्त्रीमा आलोपालो नेतृत्व गर्ने निर्णय भएको छ । मुख्यमन्त्रीमा माओवादी केन्द्र र कांग्रेसले आलोपालो गर्ने, जनता समाजवादीलाई सरकारमा सहभागी बनाउने र राष्ट्रिय जनमोर्चा सरकार बाहिरै बसेर सहयोग गर्ने निर्णय भएको छ । सुरुवातमा माओवादी केन्द्रका संसदीय दलका नेता कुलबहादुर केसी मुख्यमन्त्री बन्ने र त्यसपछि कांग्रेस संसदीय दलका नेता वीरेन्द्रकुमार कानोडियालाई मुख्यमन्त्री बनाउने तयारी छ ।
फागुन ३ गते प्रदेशसभा दिवस र जनयुद्ध दिवस मनाएपछि केसीले मुख्यमन्त्रीबाट राजीनामा दिने सहमति भएको र गठबन्धनमा सबै दललाई अपनत्व महसुस गराउन मुख्यमन्त्रीमा आलोपालो नेतृत्वको निर्णय भएको कांग्रेस संसदीय दलका नेता कानोडियाले बताए ।
पोखरेल आफैंले तीन वर्ष पाँच महीना २४ दिनमा आफ्नो नेतृत्वको सरकारले गरेका कामहरुको विवरण सार्वजनिक गरिसकेका छन् ।बितेको चार महीना हेर्ने हो भने राष्ट्रिय राजनीति र एमालेभित्र सम्भावनायुक्त नेताका रुपमा मानिने पोखरेल बद्नामी कमाएर मुख्यमन्त्रीबाट हटेका छन् ।राष्ट्रिय राजनीतिको असरका कारण लुम्बिनीका मुख्यमन्त्री पोखरेल वैशाख ६ मै अल्पमतमा परेका थिए ।
८७ सदस्यीय प्रदेशसभाका दुई सांसद दधिराम शर्मा न्यौपाने र दिनेश पन्थीलाई माओवादी केन्द्रले पदमुक्त गरेपछि बहुमतका लागि ४३ सांसद चाहिन्थ्यो । पोखरेल नेतृत्वको एमालेसँग ४१ सांसद थियो ।विपक्षीहरुले भने सरकार बनाउन आवश्यक संख्या देखिएका थिए । नेपाली काँग्रेससँग १९, माओवादीसँग १८, जनता समाजवादी पार्टी (जसपा) सँग ६ र राष्ट्रिय जनमोर्चासँग एक गरी ४४ सांसद थिए । उनीहरुले अविश्वासको प्रस्ताव पनि दर्ता गराए । तर अविश्वासको प्रस्ताव दर्ता गराउँदा हस्ताक्षर गरेका तीनसहित जसपाका चार सांसदलाई वैशाख ६ साँझ पोखरेलले मन्त्री बनाए ।
दिउँसो अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने र साँझ मन्त्री हुने प्रवृत्तिले लुम्बिनी प्रदेशसभा एकपछि अर्को विकृत अभ्यासतिर गयो ।त्यसैदिन एमाले प्रदेशसभा सदस्य दृगनारयण पाण्डेयले राजीनामा दिए भने विमला केसी वली आफू माओवादी केन्द्रतिर लागेको घोषणा गरिन् । एमाले नेता उत्तरकुमार वलीको निधन भएपछि उनकी पत्नी विमला, उपनिर्वाचनमार्फत् प्रदेशसभा सदस्य निर्वाचित भएकी थिइन् । उनले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट चुनाव जितेकाले माओवादी केन्द्र रोज्ने निर्णय लिएकी थिइन् । दलगत रुपमा अल्पमतमा परेपनि पोखरेलले पद जोगाउन जसपाका चार सांसदलाई मन्त्री बनाए ।
यसले पोखरेलको पद सुरक्षित हुन सकेन । जसपाले दलको निर्णय नमानी सरकारमा सहभागी सांसदहरुलाई कारबाही गर्योप । अल्पमतमा परेपछि अविश्वासको प्रस्ताव छल्न पोखरेलले वैशाख मा १९ राजीनामा बुझाए । यो राजीनामा पूर्वयोजनासहित दिएका थिए । राजीनामा लगत्तै मुख्यमन्त्री बन्ने प्रक्रियामा पोखरेल अगाडि बढे । आफू अनुकुल प्रदेश प्रमुखको फाइदा उठाउँदै धारा १६८ (१) बमोजिम मुख्यमन्त्री नियुक्त भए, त्यो पनि एमाले संंसदीय दलकै लेटर प्याडमा । विपक्षी दलहरुले आफूहरुसँग बहुमत रहेको दावीसहित प्रदेश प्रमुखको कार्यालय घेराउ गरेपछि प्रदेश प्रमुख धर्मनाथ यादवलाई आफ्नै कार्यकक्षमा ल्याएर पोखरेलले मुख्यमन्त्रीको शपथ लिए ।
यसले लुम्बिनी प्रदेशसभा र पोखरेलको बद्नामी झनै बढाउँदै लग्यो । वैशाख २२ मा एमालेका अर्का सांसद अमर डाँगीले पनि राजीनामा बुझाए । यसपछि एमालेसँग बाँकी रहृयो- ३८ सांसद् । यद्यपि जसपाले कारबाही गरेका चार सांँसद सर्वोच्च अदालतबाट पुनर्वहाली भएका कारण पोखरेलसँग बहुमत थियो । तर राज्यमन्त्री बनेकी सुमन शर्मा रायमाझीले असार १८ मा राजीनामा बुझाउँदै सरकार छोडेपनि उनी फेरि संकटमा परे । पोखरेलले मुख्यमन्त्री मोह भने कायमै रहृयो । पोखरेलले बजेट ल्याएरै छोड्ने अडानमा रहे । विपक्षमा बहुमत हुँदा बजेट पारित हुने अवस्था थिएन । त्यसैले बजेट निर्णयार्थ पेस गरिने दिन, असार ३१ मा बजेट पारित गराउनुपर्ने एमालेका सांसदहरुले बैठक बहिष्कार गरे ।
मध्यरात प्रदेशसभा अन्त्य गरेर पोखरेलले अध्यादेशबाट बजेट ल्याए । साउन ११ मा जसपाको वैधानिकता उपेन्द्र यादव पक्षले पायो, साउन १२ मा प्रदेश प्रमुख फेरिए । यसपछि भने मुख्यमन्त्री पोखरेलको सत्ता संकट बढ्यो । उनलाई महन्थ ठाकुर तर्फका प्रदेशसभा सदस्यहरू र ओलीले नियुक्ति गरेका प्रदेश प्रमुख यादवलेसाथ दिइरहेका थिए । पोखरेलले दुवै गुमाए । जसपाले पोखरेल नेतृत्व सरकारमा मन्त्री बनेका सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव र कल्पना पाण्डेलाई पदमुक्त गरिदियो । प्रदेश प्रमुख यादवको ठाउँमा शेरचन नियुक्त भए ।
पोखरेलसँग एउटा कार्ड बाँकी नै थियो, त्यो पनि प्रयोग गरे । माओवादी रोजेकी विमला केसी एमालेतिर उभिएमा विपक्षसँग बहुमत पुग्दैनथ्यो । त्यसैले केसी एमालेमै रहेको वक्तव्य सार्वजनिक भयो । तर यो प्रयासले मुख्यमन्त्री पोखरेल झनै बद्नाम बने । साउन १९ मा पत्रकार सम्मेलन गरेरै प्रदेशसभा सदस्य केसीले आफूलाई मुख्यमन्त्री पोखरेलको निवासमा पाँच दिन बन्धक बनाएको आरोप लगाइन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !