काठमाडौं। तीनकुनेस्थित अजयराज सुमार्गीको जग्गा किनेर अस्पताल निर्माण गर्न लागेको काठमाडौं इन्टरनेशनल हस्पिटल प्रालिले निर्माण प्रकृया सुरु गरेको छ। कम्पनीले सोमबार एक सार्वजनिक सूचना जारी गर्दै ‘वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयारीका लागि क्षेत्र निर्धारण’ गर्ने जनाएको छ।
तिनकुनेको जग्गामा पहिलो चरणमा १०० र त्यसपछि तीन सय बेड क्षमतासम्मको अस्पताल निर्माण गरिँदैछ। त्यहाँ इमरजेन्सी सेवाका साथै जनरल सर्जरी, मुटु, कलेजो, पाचन प्रणाली, आखा, नाक, कान, घाँटी, अर्बुद रोड प्याथोलोजी, रेडियोलोजी, प्रसुती सम्बन्धि सेवा, बाल रोग, फिजियोलोजी, नसा रोग, सघन उपचार सेवा हुने छ।साथै अस्पतालसँग सम्बन्धित प्रशासन, लेखा, फार्मसी, धुलाइ, चमेना गृह, जनसम्पर्क, रक्तसञ्चार सेवालगायत फोहोरपानी प्रशोधन तथा फोहोर ब्यवस्थापन प्रणली पनि हुने छ। त्यसैले यसको वातावरणीय प्रभाव मूल्यांकन गर्ने काम अस्पतालले सुरु गरेको हो। कम्पनीले दिने सेवाले के कस्तो असर गर्छ भनेर सरोकारवालाहरुलाई १५ दिनभित्र जानकारी गराउन भनिएको छ।
चितवन मेडिकल कलेज (सिएमसी) संचालन गरिरहेको प्रा.डा हरिश न्यौपानेको समूहले सुविधा सम्पन्न यो अस्पताल निर्माण गर्न लागेको हो। अस्पतालका नाममा गत असार १७ गते एक अर्ब ८६ करोड ९४ लाख रुपैयाँमा जग्गा खरीद गरिएको थियो।अस्पताल निर्माणका लागि बैंक अफ काठमाण्डू (बिओके) को नेतृत्वमा लक्ष्मी, सिटिजन्स र नेपाल एसबीआइ बैंकले ऋण लगानी गरेका छन्।
इक्रा नेपालले गरेको क्रेडिट रेटिङ अनुसार, अस्पतालले जग्गा खरीदसमेत गरेर ४ अर्ब २४ करोड २० लाख रुपैयाँ ऋण लिने छ। यसमध्ये पहिलो चरणको जग्गा खरीदका लागि २ अर्ब रुपैयाँ लगिसकेको छ।अस्पताल निर्माण २०२४ भित्र सिध्याउने योजना अनुसार काम सुरु भएको हो। न्यौपानेबाहेक अधिकांश सेयरधनी चितवन मेडिकल कलेज प्रालि भरतपुरमा आबद्ध छन्। उनीहरुसँग १४ बर्षदेखि यस क्षेत्रमा आबद्ध छन्। काठमाडौं इन्टरनेशनल हस्पिटलमा डा. हरिश र उनको परिवारको ७४ प्रतिशत (प्रत्यक्ष/अप्रत्यक्ष) सेयर छ। बाँकी सेयर चितवन मेडिकल कलेजमा आबद्ध समूहको छ। न्यौपाने र उनको परिवारको चितवन मेडिकल कलेजमा ६२ प्रतिशत सेयर हिस्सा छ। परियोजनाको कुल लागत ५ अर्ब ५५ करोड ७० लाख रुपैयाँ हो।
फेसबुकबाट तपाईको प्रतिक्रिया !