आलोक यादव / लहान । जिल्लामा तीब्र रुपमा कोरोना संक्रमण फैलिरहेको अवस्थामा पनि सर्वसाधरणमा मास्क नलगाउने बानीको विकास हुँदै गएपछि प्रहरीले ‘तपाईको मास्क खै?’ अभियान सञ्चालन गरेको छ ।यस अभियान अन्तर्गत प्रहरीले मास्क नलागउने सर्वसाधरणलाई निःशूल्क मास्क वितरण गरेको छ ।
कोरोना संक्रमणबाट बच्न मास्क प्रभावकारी हुने भएपनि पछिल्लो समय सर्वसाधरणहरु मास्क बिनानै घर बाहिर हिँड्न थालेपछि सचेतनाको लागि यो अभियान सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक हिरा बहादुर पाण्डेले बताए ।‘कोरोना संक्रमणबाट बच्न मास्क सबैभन्दा प्रभावकारी उपाय हो’, उनले भने, ‘हामीले मास्क नलगाउने सर्वसाधरणलाई मास्कको महत्वको बारेमा जानकारी दिदैँ सँधै घर बाहिर निस्कदा मास्क लगाउन अनुरोध गर्दै निःशूल्क मास्क वितरण गरेका छौँ ।’
उनले दुई साता यसलाई सचेतना अभियानको रुपमा सञ्चालन गर्ने र त्यसपछि भने अटेर गरेर मास्क नलगाउनेलाई जरिवाना गर्न सुरु गर्ने बताउँदै आफ्नो र समाजको स्वास्थ्य सुरक्षाको लागि मास्क लगाउन सर्वसाधरणलाई अनुरोध गरे ।
अहिले जिल्लाभरीनै प्रहरीले मास्क नलगाइ घर बाहिर निस्कने सर्वसाधरण, सवारी चालकलगायतलाई रोकेर ‘तपाईको मास्क खै?’ भनेर प्रश्न गर्न थालेका छन् । प्रहरीको टोलीले “तपाईको मास्क खोइ ?’, ‘मास्क र सेनिटाइजर प्रयोग गरौँ, कोभिड–१९ बाट बचौँ’ ‘मास्क लगाऔ, कोरोनाबाट बचौँ’ लगायतका प्लेकार्ड र हातमा मास्क बोकेर जिल्लाका चोकचोकमा पुगेर सर्वसाधरणलाई मास्क लगाउन अनुरोध र सचेत गराइरहेको छ ।
कोरोनाको तेस्रो लहरको जोखिम बढिरहेको अवस्थामा सर्वसाधरणलाई मास्कको बारेमा सचेतना गराउन यो अभियान प्रभावकारी हुने विश्वास प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलको छ । उनले नागरिकहरुले आफै सचेत भएर अनिवार्य रुपमा मास्क लगाउनुपर्ने भन्दै कोरोनाबाट बच्न स्वास्थ्यको मापदण्ड पूर्ण रुपमा गर्नुपर्नेमा जोड दिए ।
‘हामीले अहिले नागरिकलाई मास्क लगाउन प्रोत्साहन स्वरुप यो अभियन चलाएका छौँ’, उनले भने , ‘नागरिक आफैले बुझेर मास्क लगाउँदा कोरोना नियन्त्रणमा सहज हुन्थ्यो । हामी सबैको चाहना यही नै छ ।’जिल्लामा कोरोना संक्रमणको फैलावटको जोखिम उच्च भएपनि मानिसहरुको भीडभाड, जमघट, राजनीतिक दलको आमसभा, कार्यक्रम, उत्सव, मेलामा भने कुनै कमी आएको छैन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !