बुटवल । लुम्बिनी प्रदेशसभा सदस्य विमला खत्री वलीले आफूलाई मुख्यमन्त्रीको निवासमा बन्धक बनाइएको बताएकी छन् । सांसद वलीले विहीबार (आज) पत्रकार सम्मेलन गर्दै आफूलाई मुख्यमन्त्री शंकर पोखरेलको निवासमा बन्धक बनाइएको जानकारी गराएकी हुन् ।सांसद वलीले पत्रकार सम्मेलनमा जारी गरेकी विज्ञप्तीमा मुख्यमन्त्रीको निवासमा आफूलाई १८ गतेदेखि २० गते हिजोसम्म बन्धक बनाएर राखेको उल्लेख गरेकी छन् । साथै उनले आफू माओवादी केन्द्रमै रहेको पनि स्पष्ट पारेकी छन् ।
सांसद वलीले उपचारका लागि नेपालगन्ज जान लागेको अवस्थामा एमाले लुम्बिनी प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले नेपालगन्ज पु¥याइदिने भन्दै घरमै आएर गाडीमा राखेर नेपालगन्ज नगई बुटवलतर्फ हुइक्याएर मुख्यमन्त्रीको निवासमा लगेको आरोप लगाएकी छन् ।
जारी विज्ञप्तीमा उनले भनेकी छन्, ‘साउन १६, १७, १८ सम्म मुख्यमन्त्री निवासबाट बाहिर निस्कनै नदिई निरन्तर दबा दइरहियो, मैले इन्कार जारी राखिरहेँ । साउन १८ गने विज्ञप्ती लेखेर मलाई पढ्नै नदिई जबरजस्ती हस्ताक्षर गराइयो ।’
उनले थप भनेकी छन्, ‘२० गते विहान मलाई असह्य मानसिक पीडा भयो, यहाँबाट जसरी पनि निस्कनुपर्छ भनेर सोच बनाएर समय र परिस्थिति हेरी म आज जसरी पनि निस्कनुपर्छ भनेर तयारी गरे ।’
त्यस्तै, सांसद वलीले २० गतेका दिन मौका छोपी ट्वाइलेटमा प्रयोग गर्ने चप्पल लगाएर भाग्दै नेकपा माओवादी केन्द्र संसदीय दलको कार्यलय गएको पनि पत्रकार सम्मेलनमा जानकारी दिइन् । राजनीति र सरकारको खेलमा यस्तो घटना आफूले पहिलो पटक ब्यहोर्नुपरेको पनि उनले विज्ञप्ती उल्लेख गरेकी छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !