काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) का वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षकाे केन्द्रीय कमिटी बैठक आज बस्दै छ । बिहान ११ बजे बुद्धनगरस्थित एक ब्यांक्वेटमा तय तय गरिएकाे उक्त बैठकले एमाले विभाजनका लागि ठाेस निर्णय लिनसक्ने बताइएकाे छ ।
उता एमालेकाे संस्थापन पक्ष (केपी ओली पक्ष)ले भने नेता नेपालद्वारा डाकिएको उक्त केन्द्रीय कमिटी बैठकप्रति कडा आपत्ति जनाएको छ ।एमाले कार्यालय सचिव शेरबहादुर तामाङले हिजो राति नै एक विज्ञप्ति जारी गर्दै नेपाल पक्षले बिहिबारका लागि डाकेको बैठकलाई अनाधिकृत भन्दै आपत्ति जनाइएको हो ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कमिटीको नामबाट साउन २१ गते बैठक आयोजना गरिएको भन्ने सुनिएको भन्दै विज्ञप्तिमा साउन २१ गते पार्टीले कुनै पनि बैठक नडाकेको उल्लेख गरिएको छ । पटक पटक एमालेको नामबाट अनधिकृत गतिविधि गर्ने र सो गतिविधिमा सरिक हुने विषय संविधान, प्रचलित कानुन र पार्टी विधान विपरित हुने भन्दै तामाङले जारी गरेको विज्ञप्तिमा त्यस्ता गतिविधिमा नलाग्न पार्टी कार्याकर्तालाई भनिएको छ ।
पार्टी भित्रको विवादबारे सुझाव लिन भन्दै नेपाल पक्षले बुधबारका लागि आफ्नो समूहको केन्द्रीय कमिटी वैठक डाकेकोमा केही सदस्यहरु उपत्यका बाहिर रहेको भन्दै बैठक बिहीबार (आज)का लागि सारिएको थियाे । आफ्नो समूहका केन्द्रीय सदस्यहरुको राय लिएर मात्रै नेता नेपालले पार्टी एकतासम्बन्धी निर्णय लिने बुझिएको छ ।
उता एमाले अध्यक्ष ओली प्रधानमन्त्री रहँदा प्रेस सल्लाहकार रहेका एमाले नेता सूर्य थापाले ‘पार्टीको बैठकमा नआउने तर गुटकाे भेलालाई बैठक नै भनेर हल्ला गर्ने ?’ भन्दै नेपाल समूहकाे बैठकप्रति प्रश्न उठाएका छन् । उनले माधव समूहले गाईजात्रा नभएर गाेरुजात्रा नै गर्न लागेकाे समेत बताएका छन् ।
सामाजिक सञ्जालमार्फत थापाले भनेका छन्, ‘संविधान, कानुन, विधान, विधि र पद्धतिअन्तर्गत त यस्ताे अनधिकृत र गैरकानुनी कार्य गर्न पाइँदैन । अझ माधव कु. नेपालकाे विधि,पद्धतिकाे रटानविपरीत यसाे गर्न किमार्थ मिल्दैन । खासमा यसाे गर्नु गाईजात्रा नभएर गाेरूजात्रा नै हुन्छ !’
फेसबुकबाट तपाईको प्रतिक्रिया !