काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को सोमबार बसेको स्थायी समिति बैठकले ९ वटा विभाग गठन गरेको छ । ती ९ विभागमध्ये पर्यटन विभाग चर्चामा छ । पर्यटन विभागको प्रमुखमा पूर्व पर्यटन मन्त्री भानुभक्त ढकाललाई जिम्मेवारी दिइएको छ । प्रमुख ढकालका कारण भन्दा पनि नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेललाई विभागको सदस्य बनाइएकाले पर्यटन विभागको चर्चा भएको हो ।
एमालेले पर्यटन विभागमा पौडेललाई राखेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको कार्यकालमा पनि निगमको महाप्रबन्धकमा टिक्नका लागि आनन्द बतासमार्फत् पहल गरिरहेका उनलाई अप्ठेरो पर्ने भएको छ । निगममा आउनुअघि पौडेल बतास समूहको अटो कम्पनी इस्ट्रन एजेन्सिज प्रालिका प्रमुख कार्यकारी अधिृकत थिए ।आनन्द बतास प्रधानमन्त्री देउवापत्नी आरजु राणाका ब्यापारिक साझेदार हुन् ।
एमालेले पर्यटन विभागको सदस्य बनाएपछि उनलाई बतासमार्फत्श निगममा थमौती हुन गाह्रो हुने भएको छ । त्यसो त निगमका महाप्रबन्धक पौडेलले निगम निजीकरण गर्नका लागि ८० अर्बको सम्पत्ति ५० अर्ब मात्र मूल्यांकन गरेको, कर्मचारीको भत्ता कटौती गरी आफ्नो तलव सुविधा मासिक १ लाखबाट ३ लाख पुर्याएको आरोप छ । निगम हिमालयन एयरलाइन्सलाई बिक्री गर्नका लागि महाप्रबन्धक पौडेलले सुटुक्क कम्पनीमा लग्ने निर्णय गराइसकेका छन् ।
एमालेको पर्यटन विभागका सदस्यहरुमा कृष्ण अर्याल, चन्द्र रिजाल, घनेन्द्र श्रेष्ठ, पूर्ण कुँवर, राजेन्द्रप्रसाद सापकोटा, बिजय नेपाल, कृष्णलाल चौधरी, जया बराल, रामबली दास, चिन्तामणि शर्मा, परमानन्द भण्डारी, लीला लामा, सीताराम सापकोटा र प्रकाश पौडेल छन् ।
एमालेको पर्यटन विभागमा पर्यटन बोर्डका सीईओ धनन्जय रेग्मीलाई भने सदस्य बनाइएको छैन । बोर्डका उपाध्यक्ष चन्द्र रिजाल भने विभागका सदस्य मनोनीत भएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !