दर्चुला । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले दार्चुलामा तुइन काटेर एक जना नेपाली युवाको हत्या गरेको घटनाको बयान फेर्न प्रत्यक्षदर्शीलाई धम्की दिएको छ।सरकारले बनाएको वार्ता टोली सोमबार प्रत्यक्षदर्शीलाई दार्चुलाको सदरमुकाम खलंगा बोलाएपछि भारतीय सुरक्षा फौज एसएसबीले बयान फेर्न दबाब दिएर फोन गरेको दार्चुलाको व्यास नगरपालिका-२ का वडाध्यक्ष धिरनसिंह बुढाथोकीले जानकारी दिए।
बुढाथोकीले भने, ‘हिजो बयानका लागि बोलाएका एकजना प्रत्यक्षदर्शीलाई भारतीय सुरक्षा फौजले फोन गरेर बयान फेर्नू नत्र राम्रो हुँदैन भन्दै धम्की दिए।’ उनले भने, ‘भारतीय सुरक्षा फौजको खलंगा बजारमा बाक्लो उपस्थिति छ। जताततै खानतलासी एसएसबीले गरिरहेको छ।’
अध्यक्ष बुढाथोकीका अनुसार उनीहरुले यो घटनालाई झूटो सावित गर्न विभिन्न पत्र पत्रिकामा गलत समाचार भारतीय सञ्चारमाध्यमले लेख्न थालेका छन्।महाकाली नदीमा तुइन तर्ने क्रममा बेपत्ता भएका जयसिंह धामीको घटनाबारे अनुसन्धान गर्न हिजो प्रत्यक्षदर्शी तीन जनालाई जिल्ला सदरमुकाम खलंगा ल्याइएको छ। दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशीका अनुसार तुइन तर्दै गर्दा देख्ने तीन जना प्रत्यक्षदर्शीलाई जिल्ला प्रशासन कार्यालयमा ल्याइएको हो।
गत असार १५ गते दार्चुलाको व्यासबाट भारतको पिथौरागढको बाटो हुँदै जिल्ला सदरमुकाम खलंगा आउन लाग्दा स्थानीय ३३ वर्षीय धामी महाकालीमा बेपत्ता भएका थिए। अस्थायी तुइनबाट पिथौरागढको बाटो हुँदै सदरमुकाम जान लागेका उनलाई तुइन तर्दै गर्दा भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइन काटिदिएर ‘हत्या’ गरेको थियो। तर भारतीय सुरक्षाकर्मी भने यो घटनालाई झुटो भन्दै आएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !