काठमाडौँ । नेकपा (एमाले) की सांसद रामकुमारी झाँक्री पार्टी एकताका लागि अध्यक्ष केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने बताएकी छन् । पार्टी र कम्युनिस्ट आन्दोलनलाई अहिलेको अवस्थामा पुर्याउने मुख्य जिम्मेवार अध्यक्ष ओली भएको भन्दै सांसद झाँक्रीले राजीनामा गर्न भनेकी हुन् ।
पार्टी एकताका लागि माधवकुमार नेपाल पक्षले १० बुँदे प्रस्ताव मानेर जान नसक्ने झाँक्रीको भनाइ थियो । एमाले विवाद समाधान गर्न गठित कार्यदलले असार २७ गते १० बुँदे सहमति गरेको थियो । अध्यक्ष ओली पक्ष र कार्यदलमा रहेका नेपाल पक्षका नेताहरूले उक्त सहमति मानेर जानुपर्ने बताइरहेका छन् भने नेता नेपालले त्यो मान्न नसकिने अडानमा छन् ।
नेपाल निकट अनेरास्ववियुले शनिबार आयोजना गरेको अखिल फोर्सको भेलामा झाँक्रीले केपी ओलीलाई अध्यक्ष मानेर एमालेमा बस्न नसकिने बताइन् । ‘यो कम्युनिस्ट आन्दोलन धरासयी गर्ने तपाईं राजीनामा गर्ने चेस्टा गर्नुहुन्छ कि गर्नुहुन्न ?,’ उनको प्रश्न थियो ।
संसद् र संविधान जोगाउनका लागि नेपाल पक्षले गरेको विद्रोहले वैधता पाएको अवस्थामा मुलुकको राजनीतिलाई अहिलेको अवस्थामा पुर्याउने ओली बाहिरिनुपर्ने झाँक्रीको भनाइ थियो । ‘आज हामीले गरेको विद्रोहले वैधता प्राप्त गरेको छ,’ उनले भनिन्, ‘राजनीतिलाई यो अवस्थामा पुर्याउने पात्रहरूले राजनीतिबाट बाहिर भएको अवस्थामा पार्टी एकता हुन्छ ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया !