काठमाडौं। लुम्बिनी प्रदेशसभा सदस्य विमला खत्री वली एसपीको सम्पर्कमा आएकी छन्। नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले बुटवलको नयाँ गाउँस्थित आफ्नै डेरामा रहेकी सांसद वली हिजो ८ बजेतिरबाट सम्पर्कविहीन भएको बताएका थिए।
जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक सुरेश काफ्लेले सांसद वली सम्पर्कमै रहेको बताए। ‘मैले माननिन ज्यू सम्पर्कमा नरहेको भनी समाचारहरू आएपछि उहाँलाई फोन गरेँ, मेरो फोन रिसिभ पनि भयो,’ उनले भने ‘उहाँले घाँटीमा समस्या भएकाले नेपालगञ्जमा उपचारमा छु, मेरो अवस्था सामान्य छ भन्नु भएको छ।’
माओवादी केन्द्रका संसदीय दलका सचेतक घर्ती मगरको गरेको फोन विमलाले रिसिभ नगर्दा शंका उत्पन्न भएको थियो। शुक्रबार बिहानदेखि आफूले फोन गर्दा विमलाले रिसिभ नगरेको सचेतक घर्तीले बताए।
यस्तै, उनीसँग निकट रहेकी लुम्बिनी प्रदेशसभा सदस्य दामाकुमारी शर्माले पनि आफ्नो फोन रिसिभ नगरेको बताइन्। ‘कुनै समस्या भएर होला, हिजो अस्तिदेखि मेरो पनि फोन रिसिभ भएको छैन’, उनले भनिन्। मुख्यमन्त्री शंकर पोखरेलले विश्वासको मत लिने बताइरहेका बेला सांसद सम्पर्कविहीन भएपछि राजनीतिक वृत्तमा विभिन्न आशंका उत्पन्न हुने गरेका छन्।
दाङ क्षेत्र नं ३ को प्रदेशसभा ‘ख’ बाट निर्वाचित विमला सम्पर्कविहीन भएपछि अनेक खालका टिप्पणी भएका थिए। लुम्बिनी प्रदेशमा शुक्रवार मात्रै नयाँ प्रदेश प्रमुखले कार्यभार सम्हालेपछि राजनीतिक कोर्ष परिवर्तन हुन सक्ने आंकलन गरिएको बेला विमला माओवादी केन्द्रको संसदीय दलको सम्पर्कमा नआउँदा अनेक खालका शंका उत्पन्न भएको थियो।
यसअघि पनि पार्टीको सम्पर्कबाहिर रहेकी जसपा सांसद पुर्मती ढेंगालाई एमालेले मन्त्री पदसहित आर्थिक प्रलोभनमा पारेको जसपाले आरोप लगाएको थियो। ढेंगा अहिले जसपामै फर्किएकी छन्। सरकार परिवर्तनको सम्भावना रहेको भनिएका बेला सांसदहरू सम्पर्कविहीन हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !