पर्सा । भूमिसुधार तथा मालपोत कार्यालय पर्साका कर्मचारीहरुले निषेधाज्ञा अवधिमा पनि घूस लिएर केही सेवाग्राहीको काम गरेको रहस्य खुलेको छ। गत वैशाख १६ देखि असार ६ गतेसम्म पर्सामा निषेधाज्ञाको कारण भीडभाड हुने अधिकांश सरकारी कार्यालयहरु बन्द रहेको अवस्थामा पनि सेवाग्राहीसंग लाखौं रुपैयाँ घूस लिएर कर्मचारीहरुले जग्गा पास गरेको खुलेको छ।सो अवधिमा कर्मचारी र केही लेखनदासहरुको मिलोमतोमा ५६ वटा जग्गा सम्बन्धी काम भएको विभागकै स्रोतले बताएको हो।
मालपोत कार्यालय, पर्साको चलानी रजिष्टरमा पनि जग्गा सम्बन्धी काम भएको विवरण उल्लेख गरिएको छ। बैंकको रोक्का, दृष्टिबन्धक, लिखत पासलगायत विभिन्न काम भएको बताइएको छ।रोक्का र दृष्टिबन्धक ५० हजार रुपैयाँ र जग्गा पासको काम १ लाख रुपैयाँ लिएर गरिएको स्रोतले बताएको छ । मालपोत कार्यालय, पर्साका प्रमुख वासुदेव खतिवडाले आफूलाई यस विषयमा जानकारी नभएको बताए।
उनले आफू बिरामी परेर काठमाडौंमा भएको र निषेधाज्ञाको अन्तिमतिर वीरगंजमा सरुवा भएकाले बुझेर बताउने आश्वासन दिए।पर्साका प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेले केही जग्गाको अत्यावश्यक काम भएकाले आफूले सिफारिस गरेको तर दर्जनौंको सङ्ख्यामा गोप्यरूपमा जग्गाको काम भएको बारे थाहा नभएको बताए।
‘निषेधाज्ञा अवधिमा केहीले उपचार खर्च भएन भनेर जग्गा बेच्ने उद्देश्यले लिएर आएका थिए। दुई–तीनवटा त्यस्तो सिफारिस हामीले गरेका थियौं, अरु ड्राइपोर्ट भन्सारको पुर्जा बनाउने काम भएको होला। बाँकी ५६ वटा जग्गा सम्बन्धी काम कसरी भयो भन्ने विषयमा छानबिन गर्नेछु,’ प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेले भने।
फेसबुकबाट तपाईको प्रतिक्रिया !