काठमाडौं । नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमालेमा प्रवेश गरेका पूर्वमन्त्री टोपबहादुर रायमाझीले आफू माओवादीमै रहेको दाबी गरेका छन् । बुधबार सर्वोच्च अदालतमा सांसद पद कायम गर्नुपर्ने मागसहित दायर भएको रिटमा उनले आफू माओवादीकै केन्द्रीय समिति सदस्यमा रहेको बताएका हुन् ।
दायर गरिएको रिटमा उनले भनेका छन्, ‘नेकपा एमाले आजसम्म म औपचारिक रुपमा प्रवेश गरेको छैन । एमालको पार्टी सदस्यता लिएको छैन । नेकपा माओवादी (एकता) केन्द्रको केन्द्रीय समितिको सदस्यमा रहेको छु ।’
रायमाझीसँगै पूर्वगृहमन्त्री रामबहादुर थापा बादललगायत माओवादीका थुप्रै नेताहरु माओवादी छाडेर नेकपा एमालेमा प्रवेश गरेका थिए । एमालेमा प्रवेश गरेपछि उनीहरुलाई माओवादीले पार्टीबाट निष्कासन गरेको थियो ।
माओवादीले सांसद पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेपछि संसद् सचिवालयले रायमाझीलाई गएको चैत २६ गते सांसद पदबाटसमेत हटाएको थियो ।
सांसद पदबाट हटेको करिब ४ महिनापछि पुनः गुहार माग्दै उनी सर्वोच्चको ढोका ढक्ढक्याउन पुगेका छन् । प्रतिनिधिसभा विघटन गर्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध सर्वाेच्चले दुई पटक रोक र प्रधानमन्त्री देउवा सरकारलाई नियुक्त गर्न आदेश दिएसँगै माओवादी छाडेर एमालेमा प्रवेश गरेका रायमाझीहरु तित्तरवित्तर हुन पुगेका हुन् ।
ओली सरकार हुँदा त्यस्तै हाइफाइ भएका उनीहरु गठबन्धनसहितको देउवा सरकार बनेपछि यता न उताको भएपछि फेरि सहारा खोज्न माओवादीमै फर्किन सकिन्छ कि भन्ने झिनो आसाले पुनः अदालतको ढोका ढक्ढक्याउन बाध्य हुनु परेको हो ।
यसअघि माओवादी केन्द्रका नेताहरू रामबहादुर थापा, लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापा लगायत नेताहरु नेकपा एमालेमा प्रवेश गरेका थिए ।
https://drive.google.com/file/d/1JMhYswbTZPuRks11eqJrECGSYlw_pMB6/view

















