विराटनगर । फुटबल खेल्दा भएको विवादलाई लिएर मोरङमा एक युवकको हत्या भएको छ । मोरङको उर्लाबारी नगरपालिका–८ राजघाटका १७ वर्षीय अभिषेक चौधरीको हत्या भएको हो ।जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दीपक श्रेष्ठका अनुसार आइतबार भएको विवादलाई लिएर सोमबार चौधरीमाथि छुरा प्रहार भएको थियो ।सोमबर दिउँसो १:१५ बजेतिर भएको छुरा प्रहारबाट अभिशेष गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि बिर्तामोडस्थित बी एन्ड सी अस्पताल पुर्याएलगतै चिकित्सकले मृत घोषित गरेका थिए ।
स्थानीय भुरन चौधरीको घरमा बसिरहेका बेला छ÷सात जनाको समूहमा रहेका युवाहरुले अभिषेकमाथि छुरा प्रहार गरेका थिए । छुरा प्रहार र आक्रमणबाट अभिषेसँगै रहेका २१ वर्षीय सुशन धामी पनि घाइते भएका छन् । उनको उर्लाबारीकै अरनिको अस्पतालमा उपचार भइरहेको छ ।घटनामा संलग्न भएको आरोपमा इलाका प्रहरी कार्यालय उर्लाबारीले दुई युवकलाई नियन्त्रणमा लिएको छ । अन्यको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार युवाहरुबीच फुटबल खेल्ने क्रममा आइतबार विवाद भएको थियो । आइतबार नै मिलेको विवादमा भोलिपल्ट अर्को पक्षका किशोरको हत्या गरेको प्रहरीले बताएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !