विराटनगर । विराटनगर महानगरपालिका – ५ बिजुली अफिसमा अगाडि मृत भेटिएका पुरुषलाई ठक्कर दिएको आरोपमा प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ ।साउन ४ गते राति साढे ८ बजे कोसी राजमार्गको विजुली अफिस खण्ड नजिकै मोटरसाइकलमाथि एक वृद्ध पुरुष मृत भेटिएका थिए ।
ठक्कर दिएको आरोपमा को १ क १३३३ नम्बरको ट्रक र चालक सुनसरी धरान उपमहानगरपालिका–२० देवीगाउँका २८ वर्षीय रामशरण राईलाई नियन्त्रणमा लिएको मोरङका प्रहरी प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए ।
साउन ४ गते राति को ४ प २३१६ नम्बरको मोटरसाइकलमाथि विराटनगर– ५ का ६७ वर्षीय सुदर्शन न्यौपाने मृत भेटिएका थिए । पक्राउ परेका चालकमाथि आइतबार सवारी ज्यान मुद्दामा अनुसन्धानका लागि म्याद थप गरिएको डीएसपी श्रेष्ठले बताए । पक्राउ परेका ट्रक चालकले दुर्घटनापछि घाइते अवस्थामा रहेका वृद्धले ठीक छु भनेपछि आफ्नो गन्तब्यमा गएको बयान दिएको उनले बताए ।
‘दुर्घटना भएपछि ट्रक चालक र ट्रकको पछाडि मोटरसाइकलमा यात्रा गर्ने व्यक्तिले उठाएका रहेछन्,’ उनले भने,‘ न्यौपानेले ठीक छ भनेपछि आफ्नो बाटो लागेको बताएका छन् ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया !