काठमाडौं । नेपालको प्रधानमन्त्रीमा पाँचौपटक शेरबहादुर देउवा नियुक्त भएकोमा बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले हार्दिक बधाई ज्ञापन गर्दै कार्यकालको सफलताको कामना गरेकी छन् । साथै, उनले आफ्नो देशको राजधानी ढाका भ्रमणको लागि आमन्त्रण गर्दै सहयोगको नयाँ क्षेत्रमा साझेदारीको प्रस्ताव गरेकी छन् ।
प्रधानमन्त्री देउवालाई पठाएको बधाई सन्देशमा बङ्गलादेशी प्रधानमन्त्रीले संसद्मा श्री देउवालाई प्राप्त अत्यधिक मत नेपाली जनता र नेपालको राजनीतिक नेतृत्वले गरेको उनिमाथि गरेको विश्वास र भरोसाको प्रमाण भएको बताएकी छन् । निकटको छिमेकीको नाताले बङ्गलादेश र नेपालबीच सुमधुर सम्बन्ध रहेको चर्चा गर्दै उनले सन्देशमा त्यो सम्बन्ध बहुसमानता र एक अर्कालाई जोड्ने साझा सम्पर्कमा आधारित रहेको उल्लेख गरेकी छन् ।
बङ्गलादेश र नेपालबीच विविध क्षेत्रमा विद्यमान सहयोगलाई प्रधानमन्त्री देउवाको सक्षम नेतृत्वमा अझ सुदृढ तुल्याउन तथा उपयोग नगरिएका सहयोगका सम्भावित क्षेत्र पहिचान गरी द्विपक्षीय सहयोग एवम् सहकार्य घनिभूत हुने विश्वास व्यक्त गरेकी छन् ।
‘हालै सम्पन्न राष्ट्रपिता शेख मुजिबर रहमानको जन्मशताव्दी तथा स्वततन्त्र बङ्गलादेशको स्वर्ण महोत्सव समारोहमा नेपालका राष्ट्रपतिबाट भएको राजकीय भ्रमणको अनुरागपूर्वक स्मरण गरेकी छु, राष्ट्रपिताको स्वर्ण बङ्गलादेश बनाउने सपना साकार पार्न अग्रसर हामी विकासशील अर्थतन्त्रमा रुपान्तरण भइसकेका छौँ, सन् २०४१ सम्ममा विकसित अर्थतन्त्रमा परिवर्तन हुनेछौँ’, आफ्नो देशले गरेको आर्थिक–सामाजिक विकासबाट लाभान्वित हुन नेपाललाई आह्वान गर्दै प्रधानमन्त्री हसिनाले पारस्परिक लाभका खातिर प्रधानमन्त्री देउवासँग निकट सम्पर्कमा रहेर काम गर्ने इच्छा व्यक्त गरेकी छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !