चितवन। चितवनको राप्ती नगरपालिका–३ की २३ वर्षीया सुजिता भण्डारीको मृत्युको कारण अझै खुल्न सकेको छैन । ब्रम्हस्थानी सामुदायिक वनभित्र शव भेटिएको एक महीना पुगिसक्दा पनि मृत्युको कारण नखुलेको हो ।जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार सामाखुशीस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा भएको भिसेर परीक्षणको रिपोर्ट नआउँदा मृत्युको कारण खुल्न ढिलाइ भएको हो ।स्रोतका अनुसार कोरोना भाइरसका कारण आलोपालोमा काम भइरहेको र जनशक्ति पनि कम रहेकाले रिपोर्ट आउन ढिला भएको प्रयोगशालाले भनेको छ ।त्रिवि शिक्षण अस्पतालमा भएको पोष्टमार्टममा मृत्युको कारण खुल्न नसकेपछि भिसेरा जाँचका लागि पठाइएको थियो । प्रहरीका अनुसार पोष्टमार्टम रिपोर्टमा बाहिरी चोटपटक नदेखिएको उल्लेख गर्दै मृत्युको कारण पहिचान हुन नसकेको भनिएको छ ।पोष्टमार्टबाट मृत्युको कारण नखुलेपछि सुजिताले विष सेवन गरेको हुनसक्ने आशंकामा भिसेरा परीक्षण गरिएको थियो ।प्रहरीले २१ असारमा उनको शव बरामद गर्दा नजिकै विषको बट्टा भेटिएकाले पनि यो आशंका गरिएको थियो । शव भेटिएको ९ दिन अघि उनी साथी कहाँ जाने भन्दै घरबाट हिंडेकी थिइन् । बिहान ६ बजेतिरै घरबाट निस्किएकी उनी खाना खाने बेला पनि आएकी थिइनन् । दिउँसो १२ बजेतिर अपहरित भएको भन्दै फोन आएपछि परिवारले प्रहरीलाई खबर गरेको थियो ।
तर अपहरणलाई पुष्टि गर्ने आधार प्रहरीले भेटेको थिएन । त्यहीबीच जंगलमा उनको शव भेटिएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !