काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बिहान ९ बजेका लागि बाेलाइएकाे छ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार र शनिबार पार्टी पदाधिकारी बैठक बोलाउनुभएको हाे ।
तर उक्त बैठक बालुवाटारमा नबस्ने भएकाे छ । प्रम देउवाकाे निजी निवास बूढानीलकण्ठमा शुक्रबार बिहान ९ बजे पदाधिकारी बैठक बोलाइएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
पौडेलका अनुसार बैठकमा कांग्रेसकाे आगामी महाधिवेशनको तयारी बारे छलफल हुनेछ । बैठकमा पार्टीका पूर्व पदाधिकारीहरू समेत सहभागी हुने जनाइएकाे छ ।विगतमा पार्टीका बैठकहरू सरकारी निवास बालुवाटारमा बस्ने गरेकाेमा विशेष गरी निवर्तमान प्रधानमन्त्री केपी ओलीको चर्को आलोचना हुने गरेको थियो ।
यस्ताे गलत परम्परालाई तोड्दै अबदेखि नेपाली कांग्रेस पार्टीको औपचारिक बैठकहरू प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नगरिने भएकाे कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले बताउनुभयाे ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !