काठमाडौं । पछिल्ला वर्षहरुमा बैंकिङ कसुर र विभिन्न आर्थिक अपराधका मुद्दाहरु ह्वात्तै बढेका छन्। कर्पोरेट क्षेत्रमा पछिल्लो समय विभिन्न अपराधहरु मौलाउँदै गएका छन् । घर–जग्गा कारोबारदेखि लिएर बैंकिङ क्षेत्रमा समेत अपराधिक गतिविधिहरु मौलाउँदै गएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको तथ्यांकले देखाएको छ । बैंकिङ कसुर अपराधमा नेपाल बैंकका शाखा प्रवन्धकसहित करिब एक दर्जन व्यक्तिहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरी मुद्धा चलाएको थियो । अर्काको खाताबाट कसैले पैसा चोर्नु, इन्टरनेट बैंकिङमा कानूनलाई मिचेर कोड लिनु, कसैको सम्पत्ति गैरकानूनी तवरले आफ्नोमा ल्याउनु, गैरकानूनी हिसाबले बैंकिङ गतिविधिहरु गर्नु लगायतका कुरा बैंकिङ कसुर अन्तर्गतका अपराध हुन् ।
नेपालको सन्दर्भमा कर्जा तिर्न नसक्दा पनि बैंकिङ कसुर अपराध अन्तर्गत मुद्धा चलाइन्छ । कुनै व्यक्तिले फर्जी कागजात बनाएर बैंकलाई ठग्न खोज्छ भने त्यस्तो व्यक्तिलाई कारवाही हुनैपर्छ । बैंकिङ कसुर अपराध पनि आफैँ घट्दैन । बैंक रेगुलेशन, सुपरभिजन गर्ने निकाय कमजोर भयो भने धेरै हिनामिना हुने डर हुन्छ । यदि बैंकहरुको नियामक निकाय दह्रो हुने, सक्रिय हुने र नीति नियम कडा हुने हो भने बैंकिङ कसुर अपराधका घटना कम हुँदै जान्छ । यसको दायित्व भनेको नेपाल राष्ट्र बैंकलाई छ । नेपालको बैंक तथा वित्तीय संस्था राष्ट्र बैंकले नै नियमन गर्ने र बैंक तथा वित्तीय संस्थाको नीति निर्माण समेत राष्ट्र बैंकले गर्ने हुँदा यसमा राष्ट्र बैंक गम्भिर हुनुपर्छ । राष्ट्र बैंकले यस बिषयमा कडाई गरेन भने बैंकिङ अपराध निर्मूल हुन सक्दैन । आफ्नो खाँचो टार्ने बेलामा जस्तोसुकै चर्को ब्याजमा पनि मानिसहरू पैसा लिन तयार हुन्छन् । तर रकम फिर्ता गर्ने समयमा नगद पैसा बुझाउन नसक्दा अलमल्याउनका लागि चेक काटिदिन्छन् र खातामा पर्याप्त रकम नहुँदा चेक अनादर (बाउन्स) भएपछि कानुनको फन्दामा पर्छ ।
चेक अनादर (बाउन्स) सम्बन्धी कानुनी रूपमा अहिले दुईवटा आधार छन् । एउटा देवानी विषयसँग सम्बन्धित कानुनी बाटो र अर्को फौजदारी मुद्दाको बाटो समातेर अदालतमा न्यायका लागि जान सकिन्छ । देवानी कार्यविधिअनुसार चेक अनादर मुद्दा विनिमय अधिकार पत्र ऐन, २०३४ अनुसार सम्बन्धित जिल्ला अदालतले हेर्छ । चेक अनादर भएको मितिले अदालत जान पाँच वर्षको हदम्याद छ । यसै ऐनको दफा १०८ ले हदम्यादको व्यवस्था गरेको छ । पीडित पक्षलाई सोही ऐनको दफा १०७ ले क्षतिपूर्तिको व्यवस्था सहित पिडकलाई सजायको व्यवस्था पनि गरेको छ र बिगोको चेक अनादर भएको मितिसम्मको कानुनबमोजिमको ब्याज पीडित पक्षलाई भराउने उल्लेख गर्दै चेक अनादर गर्नेलाई तीन महिनासम्म कैद, ३ हजार रुपैयाँसम्म जरिवाना वा दुवै हुन सक्ने भन्ने कानुन विद्यमान छ ।
बैंकिङ कसुर तथा सजाय सम्बन्धी ऐन, २०६४ ले चेक अनादरको मुद्दालाई सरकार वादी हुने फौजदारी मुद्दामा समावेश गरेको छ । यो ऐनको दफा ३ को खण्ड (ग) मा आफूले खाता खोलेको बैंकमा पर्याप्त मौज्दात छैन भन्ने जानीजानी कसैलाई चेक काटिदिएमा बैंकिङ कसुर हुने बताइएको छ । यो ऐनको दफा १५ ले बिगो भराई बिगोबमोजिमको जरिवाना र तीन महिनासम्म कैद सजायको व्यवस्था गरेको छ । यस्तो मुद्दा अहिले उच्च अदालतले हेरिरहेको छ ।
- पवित्रा श्रेष्ठ पक्राउ
बैंकिङ कसुर मुद्दामा दोषी ठहरिएकी एक जना फरार दोषी पक्राउ परेकी छन्। सोमबार उक्त मुद्दाका दोषी काठमाडौं पुरानो बानेश्वरकी ४४ वर्षीया पवित्रा श्रेष्ठ काठमाडौंको पेप्सीकोलाबाट पक्राउ परेकी हुन्। उच्च अदालत पाटनबाट दोषी ठहर भएकी श्रेष्ठलाई पक्राउ गरी काठमाडौं जिल्ला अदालतमा पेस गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जानकारी दिएको छ। आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएपनि झुक्याएर पीडितलाई चेक दिएकी थिइन्। श्रेष्ठले दिएको नबिल बैंकको चेकबाट रकम भुक्तानी नभएपछि पीडितले प्रहरीमा उजुरी गरेका थिए।यसपछि अदालतले उनलाई गत वर्ष चैत १ गते दोषी ठहर गरेको थियो। बैंकिङ् कसुर तथा सजाय ऐन २०६४ को दफा ३(ग) बमोजिमको उनलाई तीन दिन कैद र १४ लाख जरिवाना हुने फैसला अदालतले सुनाएको थियो।
- लाक्पा लामा पक्राउ
बैंकिङ कसुरका फरार प्रतिवादीलाई काठमाडौंबाट प्रहरीले पक्राउ गरेको छ।केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौं बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ७का ५९ वर्षीय लाक्पा लामालाई पक्राउ गरेको हो। उनलाई प्रहरीले मंगलबार चक्रपथबाट पक्राउ गरेको ब्युरोका प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए।उनीविरूद्ध बैंकिङ कसुरको मुद्दामा ७ दिन कैद र १५ लाख जरिवाना सजाय तोकिएको छ।उच्च अदालत पाटनले गत माघ ९ गते सो सजाय सुनाएको थियो। सजाय ठहर भए पनि बेरुजु भई फरार रहेका उनलाई प्रहरीले पक्राउ गरेको हो।सजाय कार्यान्वयनको लागि उनलाई काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ।
दुगड पक्राउ
दुगड आइरन उद्योगका सञ्चालक प्रकाश दुगड चेक अनादर सम्बन्धी कसूरमा पक्राउ परेका छन् ।जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले उनलाई शुक्रबार पक्राउ गरेको काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले बताए । उनका अनुसार प्रहरी वृत्त, मालिगाउँमा उनीविरुद्ध गत माघमा किटानी जाहेरी परेको थियो । पीडितले ५ लाख ६७ हजार रुपैयाँको चेक बाउन्स भएपछि कारबाहीका लागि जाहेरी दिएलगत्तै जिल्ला अदालत, काठमाडौंबाट पक्राउ पूर्जी जारी भएको थियो ।
- ‘गुण्डा नाइके’ सत्यमान लामा पक्राउ
करिब १ करोड रुपैयाँ बराबरको चेक बाउन्स मुद्दामा काभ्रेका ‘गुण्डा नाइके’ सत्यमान लामा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय काभ्रेले लामालाई रोशी गाउँपालिका–८ कटुन्जेबाट पक्राउ गरेको हो। चेक बाउन्स मुद्दामा उच्च अदालत पाटनबाट पक्राउ पुर्जी जारी भएपछि लामालाई पक्राउ गरिएको काभ्रे प्रहरीले जानकारी दियो। पक्राउ परेका लामाको चेक बाउन्स मुद्दा काठमाडौंमा रहेकाले उनलाई काठमाडौं पठाउन लागिएको काभ्रे प्रहरीले जानकारी दिएको छ। लामाविरुद्ध रामकुमार थापा क्षेत्री र सुरज सापकोटा चेक बाउन्समा उजुरी दिएका थिए। लामाले गत माघ २० गते क्षेत्रीलाई दिएको ७० लाखको चेक पर्याप्त रकम नभएपछि बाउन्स भएको थियो। उता सापकोटालाई दिएको २२ लाखको चेक पनि पर्याप्त रकम नभएपछि बाउन्स भएको थियो। त्यसपछि उनीहरुले लामाविरुद्ध चेक बाउन्समा उजुरी दिएका थिए।
- सानुकाजी महत पक्राउ
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौंबाट पक्राउ गरेको छ ।पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका ७ जोरपाटी बस्ने रामेछाप खाँडाखेती गाउँपालिका-७ का ४६ वर्षीय सानुकाजी महत रहेका छन् ।उच्च अदालत पाटनको २०७७ पुस १४ र माघ १८ गतेको फैसलाले महतलाई क्रमशः १५ दिन कैद र ३५ लाख रुपैयाँ जरिवाना तथा ५ दिन कैद र १३ लाख रुपैयाँ जरिवाना गरी कुल २० दिन कैद र ४८ लाख जरिवाना गर्ने फैसला गरेको थियो।केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले उनलाई बिहीबार काठमाडौंको जोरपाटीबाट पक्राउ गरेको जनाएको छ ।महतले २०७६ सालमा आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्नेक जानी जानी झुक्याएर नेपाल इन्भेष्टमेन्ट बैंक र एनसीसी बैंकमा रहेको खाताबाट भुक्तान हुने गरी पीडितहरूलाई ४८ लाख रुपैयाँ बराबरको चेक काटेर दिएका थिए।बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ को दफा ३(ग) बमोजिमको कसूरमा ठहर गरी उच्च अदालत पाटनले उक्त सजाय हुने गरी फैसला सुनाएको थियो।
- गोपालप्रसाद ढुङ्गेल पक्राउ
जिल्ला प्रहरी कार्यालयले बैंकिङ कसुरमा दुई करोड ५६ लाख जरिवाना तोकिएका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउपर्नेमा झापा दमक नगरपालिका–१६ घर भइ काठमाडौं चन्द्रागिरि नगरपालिका–१५ तीनथाना बस्दै आएका गोपालप्रसाद ढुङ्गेल रहेका छन् । कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार उनलाई उच्च अदालत पाटनले २०७७ साल चैत २२ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा १५ दिन कैद र दुई करोड ५६ लाख जरिवाना तोकेको थियो । चितवनमा बसेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले निगरानी तथा खोजतलास गर्ने क्रममा उनलाई बिहीबार रत्ननगर नगरपालिका–११ जिरौनाबाट पक्राउ गरिएको प्रनाउथापाले जानकारी दिए।
- हिरा महर्जन पक्राउ
अदालतबाट दोषी ठहर भई फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ललितपुर गोदावरी नगरपालिका १२ ठेचोका ४० वर्षीय हिरा महर्जन रहेका छन् ।महानगरीय प्रहरी परिसर ललितपुर र महानगरीय प्रहरी वृत्त चापागाउँबाट खटिएका प्रहरी टोलीले उनलाई बिहीबार पक्राउ गरेको हो ।बैंकिङ कसुरका दोषी उनलाई जिल्ला अदालत ललितपुरले एक करोड पन्ध्र लाख ३८ हजार रुपैयाँ र तीन वर्ष कैद सजाय हुने फैसला गरेको थियो । अदालतको फैसलालगत्तै उनी फरार थिए । उनलाई अदालतले १५ पुस ०७२ मा दोषी करार गरेको थियो ।
- फरार रहेका दुई पक्राउ
बैंकिङ कसूर मुद्दामा दोषी ठहर भई फरार भएका दुई जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले काठमाडौंको टोखाबाट टोखा नगरपालिका–२ का ४८ वर्षीय मिलन डंगोल र कलंकीबाट काठमाडौं महानगरपालिका–२२ घर भई हाल वडा नम्बर १३ मा बस्ने ६३ वर्षीय देवनारायण महर्जनलाई सोमबार पक्राउ गरेको हो ।उनीहरु दुवैलाई चेक बाउन्सको मुद्दामा उच्च अदालत पाटनले दोषी ठहर गरेको थियो । डंगोललाई ७ दिन कैद र १५ लाख जरिवाना तथा महर्जनलाई ५ दिन कैद र १५ लाख रुपैयाँ जरिवाना गर्ने फैसला भएको थियो ।पक्राउ परेका दुवै जनालाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेको व्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !