एजेन्सी । भारतमा म्युकरमाइकोसिस (कालो ढुसी)को संक्रमणबाट ज्यान गुमाउनेको संख्या बढेको छ । नाक, आँखा र कहिलेकाहीँ मस्तिष्कमा पर्ने कालो ढुसीको कारण भारतमा ४३ सयभन्दा धेरैले ज्यान गुमाएका छन् । पछिल्लो समय त्यहाँ कालो ढुसीका संक्रमितको संख्यामा उल्लेख्य वृद्धि भएको जनाइएको छ ।
अहिलेसम्म भारतमा कालो ढुसीका ४५ हजार ३७४ संक्रमित फेला परेको भारतका स्वास्थ्यमन्त्री मन्सुख मन्दाभियाले बताएका छन् ।
संक्रमितहरुमध्ये करिब आधा मानिसहरु यसको उपचार गराइरहेका बताइएको छ । कालोढुसीको संक्रमण देखिनेमा अधिकांश कोरोनाबाट निको भएका मानिसहरु छन् । यो कोरोनाबाट निको भएको १२ देखि १८ दिनमा कालो ढुसीको संक्रमण देखिने गरेको पाइएको चिकित्सकहरु बताउछन् ।
कोरोनाको उपचारको क्रममा स्टेरोइडको प्रयोग गर्ने र मधुमेहको समस्या भएका मानिसहरु सबैभन्दा धेरै जोखिममा रहेको डाक्टरहरुले बताएका छन् ।
कालो ढुसीका सबैभन्दा धेरै संक्रमित भारतको महाराष्ट्र, गुजरात, तामिलनाडु र राजस्थानमा भेटिएको भारतीय मिडियाहरुमा उल्लेख छ । महाराष्ट्र र गुजरातमा मात्र संक्रमितको संख्या १ हजार ७८५ छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !