काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटार पुगेका छन्। प्रचण्डपत्नी सीता दाहालको स्वास्थ्यस्थिति बुझ्न देउवा केहीबेर अघि खुमलटार पुगेका हुन्।
प्रचण्डका प्रेस विज्ञ विष्णु सापकोटाले भने, ‘प्रधानमन्त्रीले पहिल्यैदेखि सीता दाहालको स्वास्थ्य अवस्थाको बारेमा बुझ्न खोज्दै हुनुहुन्थ्यो, सोही क्रममा आज खुमलटार आउनुभएको हो।’ पार्किन्सन रोगका कारण दाहाल लामो समयदेखि अस्वस्थ छन्।
यसअघि आज बिहानमात्रै देउवा र प्रचण्डबीच पनि भेट भएको थियो। बिहान प्रचण्ड प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर देउवासँग मन्त्रिपरिषद् विस्तार, सरकारको आगामी कार्य योजनालगायतका विषयमा कुरा गरेका थिए।
प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गरेका देउवा गठबन्धनको विश्वास लिएर आगामी रणनीति तय गर्न सक्रिय देखिन्छन्।

















