झापा । आफ्नी ३४ वर्षीया श्रीमतीको हत्या गरी फरार सजिलाल रिख्यासनलाई प्रहरीले पक्राउ गरेको छ ।
श्रीमती हत्या आरोपमा मोरङ रंगेली नगरपालिका वडा नम्बर-९ सखुवाथान घर भई गौरादह नगरपालिका वडा नम्बर–१ शितल चोक बस्ने ३९ वर्षीय श्रीमान् सजिलाललाई प्रहरीले पक्राउ गरेको हो ।
उनलाई सोमबार बिहान प्रहरीले मोरङ प्रहरी कार्यालयको सहयोगमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।उनीमाथि आफ्नी ३४ वर्षीया श्रीमती संगीता टुडुको हत्या गरेको आरोप छ ।
गत बिहीबार बिहान रिख्यासनले आफ्नी श्रीमती संगीतालाई खेत नजिकैको टहरामा लगेर निर्ममतापूर्वक हत्या गरी फरार रहेका थिए ।उनलाई पक्राउ गरी प्रहरीले थप अनुसन्धान अघि बढाएको प्रहरी नायब उपरीक्षक राकेश थापाले बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !