अगस्टदेखि ड्रिमलाइनरबाट उडान
काठमाडौं। सिंगापुरको ध्वजावाहक कम्पनी सिंगापुर एयरलाइन्सले आइतबारदेखि पुनः नियमित उडान सुरु गरेको छ। यस अघि सिल्क एयरले नेपालमा उडान गर्थ्यो। सिल्क सिंगापुरमा गाभिएपछि नेपालको यो पहिलो उडान हो। सिंगापुर एयरलाइन्सको नेपालका लागि जेनरल सेल्स एजेन्ट एभरेष्ट एक्सप्रेस टुर्स एण्ड ट्राभलका संचालक सुधीर पाण्डेले आइतबारदेखि नियमित उडान सुरु भएको जानकारी दिए।
‘सिंगापुर एयरलाइन्स सिल्क एयरको प्यारेन्ट कम्पनी हो। करिब दुई दशक अगाडि सिंगापुर एयरलाइन्सले उडान गरेको थियो। पछि सिल्क एयरको बोइङ ७३७ मार्फत नियमित उडान हुँदै आएको थियो। अब सिंगापुर एयरलाइन्समार्फत दुईतर्फी उडान हुनेछ,’ ट्राभल संचालक पाण्डेले भने।
उनका अनुसार कम्पनीले आउँदो अगस्ट ८ तारिखदेखि बोइङ ७८७ सिरिजको ड्रिमलाइनर जहाजमार्फत उडान संचालन गर्नेछ। ‘यात्रुको माग उल्लेख्य रूपमा आइरहेको छ। अहिले सिंगापुर सरकारले ट्रान्जिट यात्रुलाई लैजान दिएको छैन। सिंगापुर सरकारले अप्रुभ गरेका यात्रु र कार्गो उडान गर्न पाइन्छ। उताबाट नेपाल आउन भने पाउनेछन्,’ उनले भने।
सिंगापुर एयरलाइन्सको जहाजले पहिलो उडानमार्फत आइतबार एक सय नौ यात्रु जना नेपाल ल्याएको थियो। नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले सिंगापुर एयरलाइन्सले व्यवसायिक फाइदा देखेर पुनः नियमित उडान सुरु गरेको उनले जानकारी दिए।
फेसबुकबाट तपाईको प्रतिक्रिया !