पर्सा । पर्साको पकाहामैनपुर गाउँपालिका-१ धोरेका वडाध्यक्ष ५५ वर्षीय अम्बिका भनिने अमेरिका सहनीसहित तीन जना लागूऔषध खैरो हिरोइन (ब्राउन सुगर) सहित पक्राउ परेका छन् ।प्रहरीले उनीसँगै रहेका वडासदस्य ४० वर्षीय बलिष्टर सहनी र ५१ वर्षीय राम आदेश सहनीलाई समेत पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक ( डीएसपी ) ओम प्रकाश खनालले दिएको जानकारी अनुसार वीरगञ्जनबाट पोखरियातर्फ जाँदै गरेका उनीहरुलाई साउन तीन गते राति साढे १० बजे वीरगञ्ज महानगरपालिका–१९ बाट इलाका प्रहरी कार्यालय पोखरियाको टोलीले नियन्त्रणमा लिएको थियो ।
इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक दीपक थापाका अनुसार वडाध्यक्ष अमेरिकाले चलाएर ल्याएको ना१ब ३५९५ नम्बरको मोटरसाइकलको फिल्टर नजिकै खैरो हिरोइन ७९ ग्राम फेला परेको थियो ।
उनीसँगै वडा सदस्य बलिष्टर ना६२प १९४२ नम्बरको मोटरसाइकल चलाएर पोखरिया जाँदै थिए भने राम आदेश वडा सदस्यको मोटरसाइकलको पछाडि बसेर आएका थिए । प्रहरीले खैरो हिरोइन,मोटरसाइकलसहित नियन्त्रणमा लिएक तीनै जनाविरुद्ध लागूऔषध मु्द्दामा आवश्यक कारबाही शुरु गरिने जनाएको छ ।

















