एसपी यादव/सर्लाही । कोरोना भाइरसको संक्रमणका कारण ०७६ चैत ११ गते देखि हालसम्म नेपाल भारत सिमानाका सिल गरिएको छ । तर सर्लाहीमा भने सिमा प्रहरी चौकी फेन्हरा, सिमराका प्रमुख प्रहरी नायव निरीक्षक (सई) रामएकबाल यादवको सेटिङमा तस्करले जिल्लास्थित फेन्हरा, सिमरा नाकाबाट भारतीय सामाग्रीहरुको खुलेआम तस्करी गर्दै आएका छन् ।
श्रोतका अनुसार, “एनि हाउ पैसा कमाउ” नितिलाई अबलम्बन गरेका सई यादवले सिमा प्रहरी चौकी फेन्हरा, सिमराको कमाण्ड सम्हालेको सुरुवाती अवस्थादेखि नै तस्करीमा तिब्रता आएको थियो । उनी कमाण्ड सम्हालेको सुरुवाती अवस्थामा नै गाईगोरु र मदिराको लाइन दिइएको श्रोत बताउछन् ।
तस्करलाई भारत नेपाल दुई तर्फी सामान ओसारपसार गर्ने काममा सई यादवको कमाण्डमा एक जना घुमुवा प्रहरी सक्रिय रहेको स्रोतले जनाएको छ ।
श्रोत भन्छ, नेपाली व्यापारी र भारतको सिमावर्ती बजार मेजरगंजका प्रत्येक व्यापारीहरु बाट महिनावारी रकम असुल उपर गर्नकै लागी सई यादवले प्रहरी जवान फुलसरिफ आलमलाई घुमुवामा खटाउदै आएका छन् ।
जिल्लाको फेन्हरा, सिमरा नाकाबाट गाईगोरुको खुलेआम तस्करी हुँदै आएको छ । स्रोत भन्छ, सिमराको पानी तान्ने बोरिङको छेउबाट शुक्रबार राती १५० थान गाईगोरु भारत तर्फ तस्करी भएको हो । र यो निरन्तर हुँदै आएको छ ।
यस क्षेत्रमा गाईगोरुको नत तस्करी रोकिएको छ, नत तस्करीमा जिम्मेवार व्यक्तिलाई सम्बन्धित निकायले कुनै कारबाही गरेको देखिन्छ ।
असार १९ गते शनिबारका दिन मदिरा लोड गरिएको ट्याक्टर सिमा प्रहरी चौकी फेन्हरा, सिमराको अगाडी रोकिएको जानकारी प्राप्त भएको थियो । त्यसबारे सई यादवलाई चौकीमै पुगेर प्रत्यक्ष बुझ्न खोज्दा उनले आफ्नो बचाउ गर्दै राहत सामाग्री भएको बताए । र उनी तत्काल आफू अति आवश्यक काममा जानुपर्ने भएको भन्दै हतार हतारमा चौकीबाट बाहिरिएका थिए ।

















