काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बुधबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न खुमलटार पुगे। केही समयको वार्तापछि विप्लवले प्रचण्ड पत्नी सीता दाहाललाई पनि भेटे।
सीता लामो समयदेखि बिरामी छिन्। उनी पार्किन्सन जस्तै लक्षण भएको प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी (पीएसपी) बाट पीडित छिन्। पछिल्लो समय उनी बोल्न र आगन्तुकलाई राम्रोसँग ठम्याउन सक्दिनन्।विप्लव बन्दी बनाइएका आफ्ना नेता कार्यकर्ताको रिहाइ र मुद्दा फिर्ताबारे छलफल गर्न खुमलटार गएका थिए। प्रचण्डसँगको वार्ता सकिएपछि उनले बिरामी सीता दाहाललाई पनि भेटे। सीताले सुरुमा विप्लवलाई चिन्न सकिनन्। केही बेरसम्म विप्लवले सीतालाई बोलाइरहे। विप्लवले बोलाउँदा उनले एकटकले हेरिरहिन्। केहीबेरमा विप्लवलाई ठम्याएपछि भने अँगालो हालेर भावुक भइन्। अनि हातका इसाराले कुरा गर्न खोजिन्।
विप्लवसँगै प्रचण्डलाई भेट्न खुमलटार पुगेका नेकपा नेता धर्मेन्द्र बास्तोलाले भने, ‘सुरुमा सीता म्याडमले चिन्नुभएन, एकहोरो हेर्नुभयो। पछि चिन्नु भएछ, अनि भावुक हुँदै अंगालो हाल्नुभयो। त्यसपछि माहोल नै पारिवारिक जस्तै भयो।’
यसअघि विप्लवका छोरा प्रकाश चन्द पनि सीता दाहाललाई भेट्न खुमलटार पुगेका थिए। त्यति बेला पनि सीता प्रकाशलाई चिनेपछि अंगालो हालेर भावुक बनेकी थिइन्। उक्त तस्वीर सामाजिक सन्जालमा समेत सार्वजनिक भएको थियो।
‘जनयुद्ध’देखि शान्ति प्रक्रियासम्म प्रचण्ड र विप्लवको सम्बन्ध पारिवारिक प्रकारको थियो। दुई परिवारबीच भेटघाट चलिरहन्थ्यो। २०६९ सालमा पार्टी विभाजन भएपछि विप्लव प्रचण्डलाई छाडेर मोहन वैद्यतिर लागेका थिए। त्यसपछि उनीहरुको भेटघाट पातलिँदै गएको थियो। गत २१ फागुनमा सरकारसँग तीन बुँदे सहमतिपछि विप्लव पहिलो पटक खुमलटार पुगेका हुन्।
प्रचण्डले विप्लवलाई आफूपछिको उत्तराधिकारीको रुपमा हेरेका थिए। तर, उनले जनार्दन शर्मा र वर्षमान पुनलाई नजिक राख्न थालेपछि विप्लव टाढिँदै गएका थिए।

















