काठमाडाैं । नेपाल सरकारका पूर्वमुख्यसचिव भोजराज घिमिरेले राष्ट्रपति कार्यालय सञ्चालनमा सचिवको भूमिकामाथि प्रश्न उठाएका छन्।
उनले राष्ट्रपति कार्यालयबाट जारी हुने विज्ञप्ति तथा सूचनामा पटक-पटक गल्ती दोहोरिएको उल्लेख गर्दै उक्त प्रश्न उठाएका हुन्। उनले राष्ट्रपति कार्यालय सल्लाहकारहरुले चलाउन थालेको हो? भनी प्रश्न उठाएका छन्।
‘राष्ट्रपति कार्यालयमा सचिवजी पनि हुनुहुन्छ होला! राष्ट्रपति कार्यालयका विज्ञप्ति सचिवजीले हेर्न छोडेको हो कि गम्भीर नभएको हो! कि त्यहाँ पनि सल्लाहकारहरूले नै कार्यालय सञ्चालन गर्छन्?,’ उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘यस्तो प्रश्न अहिलेको मात्र नभइ विगतका सूचना र विज्ञप्तिहरूलाई ध्यानमा राख्दा उठ्ने गर्छ!’
राष्ट्रपति कार्यालयले आज प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गरेको विज्ञप्तिमा संविधानको धारा उल्लेख नगरेको भन्दै आलोचना भइरहेको छ। संविधानको धारा उल्लेख नगरी गरिएको नियुक्ति नसच्चिएसम्म शपथ नलिने अडान देउवाले लिएपछि साँझ ६ बजेका लागि तोकिएको शपथग्रहण समारोह अहिलेसम्म हुन सकेको छैन।
पूर्वमुख्यसचिव घिमिरेले संविधानको धाराबिना र बिनामितिको विज्ञप्तिको आधारमा शपथ गर्दा कानुनी प्रश्न उठ्दैन त? भन्ने प्रश्नसमेत राखेका छन्। उनले अर्को ट्वीटमा लेखेका छन्, ‘प्रश्न उठ्छ, के निजामती प्रशासनको क्षमतामा यति धेरै ह्रास आइसकेकै हो त? कुनै समयमा त्यही सेवाको सेवक भएकाले मनमा यो प्रश्न उठ्दै छ आज भोलि!’

















