काठमाडौँ । सर्वोच्च अदालतले संसद पुनः स्थापनासँगै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएपछि अझै गहिरो राजनीतिक संकट निम्तिएको नेकपा एमालेमा एकताको प्रयास भने जारी छ।
यसैबीच एमाले उपाध्यक्ष वामदेव गौतम र वरिष्ठ नेता माधवकुमार नेपाल एकतालाई लिएर अहिले छलफलमा व्यस्त छन्। स्रोतका अनुसार गौतम नेपाललाई भेट्न नेपाल निवाश कोटेश्वर पुगेका छन्।उनीहरुबीच पार्टीमा उत्पन्न पछिल्लो संकट र निरुपणका उपायबारे छलफल भइरहेको स्रोतको भनाइ छ।
माधव नेपालले संसद पुन:स्थापनाको अडान लिएको र सर्वोच्चले पनि संसद पुनःस्थापना गरेको अवस्थामा नेपालसँग रुष्ट पार्टी अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी बाटो कस्तो हुन्छ त्यसबारे अड्कलबाजी तीव्र भएका बेला पछिल्लो पटक ओलीलाई साथ दिएका गौतम नेपाललाई भेट्न कोटेश्वर पुगेका हुन्।
त्यसअघि आजै नेता नेपाललाई माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले भेट गरेका थिए।यसैबीच ओलीले हिजो स्थगित गरेको बैठक आज कुनै पनि बेला बोलाउने तयारी गरेका छन्। हिजो माधव नेपाल सहभागी नहुने भनेपछि ओलीले बैठक स्थगित गरेका थिए।
