काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को २०७८ असार २४ गतेको निर्णयअनुसार असार २१ गतेबाट लागू हुनेगरी प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति हुनु भएका प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापा दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ ।
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक समारोहबीच प्रहरी अतिरिक्त महानिरीक्षक थापालाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो ।
समारोहमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले प्रहरी अतिरिक्त महानिरीक्षक थापालाई बधाई दिँदै पदोन्नतिसँगै बढेको दायित्व र जिम्मेवारीलाई प्रतिबद्वता अनुरूप नयाँ उर्जाकासाथ निर्वाह गर्न निर्देशन दिनुभयो । संगठनको थप सुदृढिकरण र विकासका लागि व्यावसायिकता र पेशागत धर्ममा रही हरेक कार्यलाई सहजरूपमा लिदै स्वमूल्याङ्कन गरी पूर्ण निष्ठाका साथ अगाडि बढ्नुपर्ने उहाँले बताउनुभयो । पदन्नोतिमा परिवारको पनि साथ सहयोग हुने भएकोले आफ्नो प्रगतिलाई परिवारमा समर्पण गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो ।
समारोहमा पदोन्नति हुनुभएका प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापाले नेपाल सरकार एवम् प्रहरी संगठनबाट प्राप्त गहन जिम्मेवारीलाई मन, वचन र कर्मका साथ संगठनको उद्देश्य प्राप्तिका खातिर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । आफू बोलाई भन्दा गराईमा विश्वास गर्ने भएकाले आफ्नो बुद्धि, विवेक र ईमानदारिताका साथ संगठनको श्रीवृद्धिमा लाग्ने उहाँले उल्लेख गर्नुभयो ।

















