काठमाडौं । नेकपा (माओवादी केन्द्र)का पूर्वनेता टोपबहादुर रायमाझीले माओवादी केन्द्र नेपालको संविधान, नेपालको कानून र राजनीतिक दलसम्बन्धी ऐनअनुसार चल्न नसकेको आरोप लगाएका छन् ।शनिबार काठमाडौंमा आयोजित एक साक्षात्कारमा उनले राजनीतिक दलसम्बन्धी ऐनमा प्रत्येक पाँच वर्षमा महाधिवेशन गर्नुपर्ने भएपनि माओवादी केन्द्रले आफ्नो अद्यावधिक गर्न नसकेको तर्क गरे ।
उनले आफैले बनाएको संविधानलाई माओवादी केन्द्रले नमानेर अराजकता सिर्जना गर्न खोजेको धारणा पनि राखे । रायमाझीले सङ्घीय सांसद, प्रदेश सांसद, पालिकाका जनप्रतिनिधि, जनताबाट प्रत्यक्ष चुनिएका वैधानिक जनप्रतिनिधिलाई अवैधानिक पार्टीले कारबाही गरेको जिकिर गरे । उनले देशमा राजनीतिक पार्टीहरूमा अराजकता, अस्वस्थ प्रतिस्पर्धा र द्वन्द्व चलेको भन्दै पार्टीहरूलाई सिस्टममा नल्याइ समृद्धि आउन नसक्ने धारणा राखे ।

















