लमजुङ । नेपाल पूर्व प्रहरी संगठन लमजुङले वाढी प्रभावितलाई राहत उपलब्ध गराएको छ । संगठनले सुन्दरबजार नगरपालिका ९ धारापानीका बाढी पीडित पुर्व प्रहरीलाई आर्थिक सहयोग गरेको हो । असार १८ गते अविरल वर्षासँगै आएको बाढीले सुन्दरबजार ९ धारापानीमा डेरा गरि बस्दै आएका पुर्व प्रहरी साहायक नीरिक्षक विर बहादुर गुरुङको डेरामा क्षेती पुराएको छ । बाढीले कोठामा रहेका सवै सामाग्री पुरेको छ ।
आँफुहरु भागेर बाँच्न सफल भएपनि कोठबाट केही पनि सामान निकाल्न नपाएको पीडित गुरुङले बताउनुभयो । पीडित गुरुङलाई तत्कालका लागि केही सहज होस भनेर आर्थीक रकम सहयोग गरिएको नेपाल पूर्व प्रहरी संगठनका केन्द्रिय सदस्य बिरसिंह घलेले बताउनुभयो । पीडित गुरुङलाई जिल्ला प्रहरी कार्यलय लमजुङ र माताहातका प्रहरी कार्यलयमा कार्यरत कर्मचारीबाट संकलित २५ हजार रुपियाँ, पूर्व प्रहरी संगठन लमजुङका अध्यक्ष कुलबहादुर गुरुङबाट ५ हजार, केन्द्रिय अध्यक्ष बसन्त कुँवरका तर्फबाट ५ हजार, केन्द्रिय सदस्य विरसिंह घलेका तर्फबाट १ हजार गरि ३६ हजार रुपैयाँ सहयोग गरिएको हो । प्रमुख जिल्ला अधिकारी होम प्रसाद लुइटेल मार्फत पीडित गुरुङलाई रकम हस्तान्तरण गरिएको पुर्व प्रहरी संगठन लमजुङका अध्यक्ष कुलबहादुर गुरुङले बताउनुभयो ।
राहत हस्तान्तरण कार्यक्रममा प्रहरी नायव उपरिक्षक कृष्ण बहादुर कार्की, समाजसेवी द्धारीका मिश्र, सुन्दरबजार ९ का वडा अध्यक्ष मोतीप्रसाद गुरुङ लगायतको उपस्थिति रहेको थियो । प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद व्यवस्थापन समितिका संयोजक होमप्रसाद लुइँटेलले बाढी प्रभावित क्षेत्रको अनुगमन गर्दै जिल्ला राहत कोषबाट सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनुभएको छ ।
