काठमाडौं । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली एकातिर बरिष्ठ नेता माधवकुमार नेपालसँग एकता वार्ता गरिरहेका छन् भने अर्कोतिर पार्टीमा मनोमानी ढंगले जिल्ला अध्यक्ष र सचिव मनोनीत गरिरहेका छन् । बिहीबारमात्रै ओलीले सर्लाही, बारा र रौतहट जिल्लामा ओलीले आफ्नो गुटका अध्यक्ष र सचिव मनोनीत गरेका छन् ।
ओलीले सर्लाहीमा राजनारायण साह, बारामा बलबीर चौधरी र रौतहटमा तुलसीराज गिरीलाई अध्यक्ष मनोनीत गरेका छन् । पार्टीलाई २०७५ जेठ २ मा फर्काउने वार्ता गरिरहँदा ओलीले भने धमाधम जिल्ला अध्यक्ष र सचिव मनोनीत गरी एकताप्रति उनी इमान्दार छैनन् भन्ने पुष्टि गरेका छन् ।
एकता वार्ता चलिरहेको समयमा ओली पक्षले सर्लाहीको सचिवमा केदार खत्री, रौतहटमा मनोजकुमार यादव र बारामा महमद समिरलाई चयन गरेका छन् ।
यसले ओली एकता वार्ताप्रति इमानदार छैनन् भन्ने देखाएको छ । अघिल्लो पटक कार्यदलको बैठक बसिरहँदा भ्याकेटमा जाने र अहिले तीन जिल्लामा अध्यक्ष र सचिव मनोनीत गर्नुले पनि एकता अल्मल्याउने र सर्वोच्चको फैसलालाई प्रभावित पार्नका लागि देखाइएको दाउपेच हो भन्ने स्पष्ट रुपमा देखिएको छ । प्रदेश कमिटीले तीन जिल्लामा अध्यक्ष र सचिव बनाएको भनिए पनि ओलीको संकेत विना उनीहरु चयन भएको कुरा कसैले पनि विश्वास गर्न नसक्ने एमाले पंक्ति जानकार छ ।
माधव नेपाल पक्षबाट वार्ता कार्यदलका सदस्य घनश्याम भूसालले एकता वार्ता जहाँको तहीँ भएको धारणा सार्वजनिक गर्नुले पनि एकता वार्ता अलमल्याउनकै लागि गरिएको कुरालाई पुष्टि गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !