-
बर्षेनी सडक पेटी खन्ने र नयाँ ग्राईभेल हाल्ने गरिन्छ, एक स्थानीयबासीले भने, कसले ठेक्का लिएको हो र कहिलेसम्म काम सक्ने त्यो पनि कुनै अत्तोपत्तो छैन, सांकेतिक साईनबोर्ड पनि राखेको छैन
-
स्थानीयले राजबिराज–रुपनी सडकलाई सडक डिभिजन कार्यालय लहानले दुहुनो गाई बनाएको आरोप
लहान । सप्तरीको राजबिराज–रुपनी सडकखण्डको पुनर्निर्माण कार्यमा सडक डिभिजन कार्यालय लहानले चरम लापरबाही गरेको छ । बर्षेनी सडक पुनर्निर्माणको नाममा सडक पेटिका माटो झिक्दा मूल सडकको कालोपत्रे भासिदा यातायातका साधनलाई आवतजावतमा सास्ती खेप्नु परेको हो । सडक पुनर्निर्माण गर्ने बहाना सडकको पेटिमा गहिरो खाल्डा खन्दा मूल सडकको कालोपत्रे भाँसिएको स्थानीय बताएका छन् ।
बर्षेनी सडक पेटी खन्ने र नयाँ ग्राईभेल हाल्ने गरिन्छ, एक स्थानीयबासीले भने, कसले ठेक्का लिएको हो र कहिलेसम्म काम सक्ने त्यो पनि कुनै अत्तोपत्तो छैन, सांकेतिक साईनबोर्ड पनि राखेको छैन । सडक पेटिमा खाल्डो खन्दा मूल सडकको कालोपत्रे भाँसिएकाले सवारी साधन आवतजावतमा समस्या हुने गरेको स्थानीयहरुले जनाएको छ । बन्दाबन्दीको समयमा सवारी साधन कमै आवतजावत गरेपनि दैनिक जसो खाल्डोमा परेर दुर्घटना हुन्छ, स्थानीय प्रत्येक्षदर्शीहरुले भने, निर्माण कम्पनीको लापरबाहीले सावारी चालक र यात्रुहरुले ठूलो सास्ती खेप्नु परेको छ ।
निर्माण कार्य द्रुतगतिमा सम्पन्न गरि सवारी आवतजावतमा सहजता ल्याउन र सडकलाई थप क्षति हुनबाट जोगाउन सरोकारवालाहरुको स्थानीयबासीले ध्यानाकर्षण गराएको छ । स्थानीयले राजबिराज–रुपनी सडकलाई सडक डिभिजन कार्यालय लहानले दुहुनो गाई बनाएको आरोप लगाएका छन् । सडक डिभिजन कार्यालय लहानले निर्माण ब्यबसायीसँगको मिलोमतोमा बर्सेनी एउटै काम गरेर करोडौं अनियमितता गर्ने गरेको स्थानीयले आशंका गरेका छन् ।
सप्तरी सदरमुकाम जोड्ने मूल मार्गको रुपमा रहेको राजबिराज–रुपनी सडकको दुर्दशा हुँदा समेत सरोकारवाला निकायहरू भने मौन देखिएको छ । सडक डिभिजन कार्यालय लहानका प्रमुख राजेन्द्रलाल दासले सडक निर्माण कार्यमा लापरबाही भएको स्वीकार गरे । निर्माण ब्यबसायीको ढिलासुस्तीले समस्या आएको भन्दै प्रमुख दासले छिट्टै सडक पेटी भर्न लगाउने बताए ।

















